पोखरा । पोखरा लेकसाइड मा आयोजित फेवा नयाँ वर्ष महोत्सवको अवसरमा पर्यटन दौड सम्पन्न भएको छ।
यस दौडमा स्थानीय बासिन्दा, खेलाडी तथा विदेशी पर्यटकसहित ३५ भन्दा बढी सहभागी भएका थिए। कार्यक्रमको मुख्य उद्देश्य पोखराको पर्यटन प्रवर्द्धन र स्वास्थ्य सचेतना फैलाउनु रहेको आयोजकले जनाएको छ।
दौड ३ किलोमिटर दूरीमा खहरेदेखि अम्बोटसम्म सम्पन्न भएको थियो।
आयोजकका अनुसार यस दौडमा विश्वका २८ देशका पर्यटकहरूको सहभागिता रहेको थियो। अस्ट्रेलिया, क्यानडा, युरोप, भारत र चीनलगायत देशका पर्यटकहरूले कार्यक्रममा भाग लिएका थिए।
पर्यटन दौड संयोजक प्रतिक पहारी ले नयाँ वर्षमा विदेशी पाहुनालाई नेपाली संस्कृति नजिक ल्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए। उनका अनुसार यो इभेन्टले पोखराको पर्यटन क्षेत्रलाई थप ऊर्जा दिएको छ।
यसैबीच, पर्यटन बोर्ड गण्डकीका संयोजक मोडी लामिछाने ले पोखराको पर्यटन पुनः लयमा फर्किन थालेको बताएका छन्। उनका अनुसार हाल पोखराका होटलहरूमा ९० देखि ९५ प्रतिशतसम्म अकुपेन्सी पुगेको छ।
नेपाल पर्यटन बोर्डले आन्तरिक तथा बाह्य पर्यटक प्रवर्द्धनका लागि ‘जाउँ है पोखरा’ अभियान सञ्चालन गरिरहेको छ। साथै दक्षिण–पूर्वी एशिया, जापान, कोरिया र अष्ट्रेलियामा लक्षित प्रचार अभियान विस्तार गर्ने योजना पनि अघि सारिएको छ।
नयाँ वर्षको पहिलो दिन पोखरामा हुने यस्ता कार्यक्रमले पर्यटक आगमन र स्थानीय अर्थतन्त्र दुवैमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।
