काठमाडौँ । नेपाली कांग्रेस भित्रको संस्थापनइतर समूहले पार्टी सदस्यता कुनै पनि नेताले आवेग वा भाषणमार्फत खारेज गर्न नसक्ने स्पष्ट पारेको छ।
निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का ले सोमबार विज्ञप्ति जारी गर्दै क्रियाशील सदस्यतासम्बन्धी समूहको आधिकारिक धारणा सार्वजनिक गरेका हुन्।
विज्ञप्तिमा निर्दलीय पञ्चायती व्यवस्थाकालमा ज्यान जोखिममा राखेर लिइएको पार्टी सदस्यता कुनै नेताको लहड वा भाषणका आधारमा खारेज गर्न नसकिने उल्लेख गरिएको छ। “त्यस्तो सदस्यता भाषणमार्फत खारेज गरिने विषय होइन,” विज्ञप्तिमा भनिएको छ।
संस्थापनइतर समूहका अनुसार पार्टी सदस्यता केवल राजनीतिक हार–जितसँग मात्र नभई लोकतन्त्र, नागरिक स्वतन्त्रता र ऐतिहासिक आन्दोलनसँग जोडिएको दस्तावेज हो। यसलाई शहीद परिवार र योगदानकर्ताप्रतिको सम्मानको प्रतीकका रूपमा पनि व्याख्या गरिएको छ।
खड्काले क्रियाशील सदस्यता पार्टीसँगको आबद्धताको प्रमाणपत्र मात्र नभई यसको ऐतिहासिक निरन्तरतासँग जोडिएको दस्तावेज भएको उल्लेख गरेका छन्। उनले महाधिवेशनबाट वैधानिक प्रक्रिया पूरा नभएसम्म सदस्यता खारेज गर्न नसकिने स्पष्ट पारे।
पार्टीभित्र सदस्यता नवीकरण र महाधिवेशन प्रक्रियाबारे विवाद जारी रहँदा आगामी १५औं महाधिवेशनको तयारीसमेत अघि बढिरहेको छ। यसबीच पार्टीभित्र नेतृत्व र प्रक्रियाबारे मतभेद झनै बढ्दै गएको देखिएको छ।

