भोजपुर । भोजपुर नगरपालिका को मुख्य प्रायोजनमा आगामी वैशाख ६ देखि १२ गतेसम्म नवौँ संस्करणको ‘मेयर भोजपुर गोल्डकप’ फुटबल प्रतियोगिता आयोजना हुने भएको छ।
आयोजकले आइतबार पत्रकार सम्मेलनमार्फत प्रतियोगिताबारे जानकारी दिँदै ‘ए’ डिभिजन क्लबसहित आठ टोलीको सहभागिता रहने जनाएको छ। प्रतियोगितालाई प्रतिस्पर्धात्मक र आकर्षक बनाउन देशभरका उत्कृष्ट टोलीहरूलाई समावेश गरिएको हो।
प्रवीनकुमार सुवाल का अनुसार प्रतियोगिताको विजेताले रु ५ लाख र उपविजेताले रु ३ लाख नगद पुरस्कार प्राप्त गर्नेछन्। साथै उत्कृष्ट खेलाडीहरूलाई विभिन्न विधामा विशेष पुरस्कार प्रदान गरिनेछ।
प्रतियोगितामा सातदोबाटो युथ क्लब (ललितपुर), एपिएफ फुटबल क्लब (काठमाडौँ), प्लानिङ ब्वाइज युनाइटेड (काठमाडौँ), एल एक्स सिटी (मोरङ), सङ्खुवासभा–११, केपिलासगढी गाउँपालिका (खोटाङ), द गोर्खाज फुटबल एकेडेमी (उदयपुर) र आयोजक भोजपुर जिल्ला फुटबल सङ्घको टोली सहभागी हुनेछन्।
पुरुषतर्फको प्रतियोगिताका लागि नगरपालिकाले रु ३० लाख बजेट विनियोजन गरेको छ।
यसैबीच, वैशाख १७ देखि २० गतेसम्म आठौँ संस्करणको महिला ‘मेयर कप’ फुटबल प्रतियोगिता पनि आयोजना गरिनेछ। महिला प्रतियोगितामा विजेताले रु १ लाख ६ हजार र उपविजेताले रु ५१ हजार ५५५ प्राप्त गर्नेछन्। बाहिरबाट आउने टोलीलाई तयारी खर्चस्वरूप रु २० हजार प्रदान गरिने आयोजकले जनाएको छ।
