काठमाडौँ — वैशाख महिनाका लागि वाणिज्य बैंकहरूले नयाँ ब्याजदर निर्धारण गरेका छन्। २० वटा बैंकमध्ये ९ वटाले ब्याजदर घटाएका छन् भने १० वटाले यथावत राखेका छन्। यस्तै कृषि विकास बैंक ले भने ब्याजदर बढाएको छ।
ब्याजदर घटाउने बैंकहरूमा सिद्धार्थ बैंक, एभरेष्ट बैंक, कुमारी बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, सिटिजन्स बैंक, हिमालयन बैंक, नबिल बैंक, एनआईसी एशिया बैंक र राष्ट्रिय वाणिज्य बैंक रहेका छन्।
यस्तै प्राइम कमर्शियल बैंक, नेपाल बैंक, ग्लोबल आईएमई बैंक, माछापुच्छ्रे बैंक, नेपाल एसबीआई बैंक, लक्ष्मी सनराइज बैंक, सानिमा बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, प्रभु बैंक र एनएमबी बैंक ले भने अघिल्लो महिनाकै दर कायम राखेका छन्।
घटाउनेमध्ये सिद्धार्थ बैंक र एनआईसी एशिया बैंकले मुद्दती निक्षेपतर्फ व्यक्तिगत तथा संस्थागत दुवैमा अधिकतम ब्याजदर ०.२५ प्रतिशत विन्दुले घटाएका छन्। हिमालयन बैंकले व्यक्तिगततर्फ ०.५० र संस्थागततर्फ ०.२५ प्रतिशत विन्दुले कमी गरेको छ भने नबिल बैंकले संस्थागत निक्षेपमा मात्रै ०.५४ प्रतिशत विन्दुले घटाएको छ।
व्यक्तिगत निक्षेपतर्फ सिटिजन्स बैंकले ०.३५ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकले ०.२५, एभरेष्ट बैंकले ०.२०, कुमारी बैंकले ०.०७ र स्ट्यान्डर्ड चार्टर्ड बैंकले ०.०१ प्रतिशत विन्दुले ब्याजदर घटाएका छन्।
यसैबीच कृषि विकास बैंकले साधारण बचतदेखि संस्थागत मुद्दती निक्षेपसम्म ०.०३ प्रतिशत विन्दुले ब्याजदर वृद्धि गरेको जनाएको छ।
