उदयपुर । त्रियुगा नगरपालिका ले सदरमुकाम गाईघाट बजारका मुख्य सडक पेटीमा व्यापार व्यवसाय नगर्न आग्रह गरेको छ।
नगरपालिकाले यस सम्बन्धमा २२५ जना फुटपाथ व्यापारी तथा व्यवसायीलाई लक्षित गरी सचेतनामूलक प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको नगर प्रमुख बसन्त बस्नेत ले जानकारी दिए।
नगर प्रहरी प्रमुख सोबित बोट का अनुसार गाईघाट बजारका मुख्य सडक पेटीमा व्यापार सञ्चालन हुँदा आवागमनमा गम्भीर अवरोध भइरहेको छ। उनले भने, “लामो समयदेखि फुटपाथ कब्जा गरी व्यापार हुँदै आएको छ। पटक–पटक अनुरोध गर्दा पनि अटेरी भएपछि बल प्रयोग गर्नु अघि सचेतना अभिवृद्धिका लागि प्रशिक्षण कार्यक्रम सञ्चालन गरेका हौँ।”
नगरपालिकाले फुटपाथ व्यापारीहरूलाई वैकल्पिक स्थान उपलब्ध गराउने तयारीसमेत गरेको जनाएको छ। बजार क्षेत्र नजिकैका उपयुक्त स्थानमा व्यवसाय सञ्चालन गर्न सहज हुने गरी व्यवस्थापन गरिने नगर प्रमुख बस्नेतको भनाइ छ।
हाल गाईघाट बजारका मुख्य सडक पेटीमा कपडा, खुद्रा सामान, मकै, माछा, फलफूल, जुत्ता–चप्पल लगायतका व्यापारहरू सञ्चालन हुँदै आएका छन्। यसले पैदलयात्रीलाई हिँडडुल गर्न समस्या भएको भन्दै नगरपालिकाले सडक पेटी खाली गराउन अभियान थालेको हो।
