उदयपुर — मदन भण्डारी लोकमार्ग अन्तर्गत उदयपुरको त्रियुगा नगरपालिका–९ राजाबासमा सोमबार बिहान टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।
प्रहरीका अनुसार बिहान करिब ९:३० बजे झिल्केटोलबाट राजाबासतर्फ जाँदै गरेको स १० प ४७१७ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको बा ५ ख ६१७ नम्बरको टिपरले ठक्कर दिएको थियो।
दुर्घटनामा त्रियुगा नगरपालिका–९ डाँडाटोलका ३५ वर्षीय हरि दनुवार गम्भीर घाइते भएका थिए। उनलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल उदयपुर लगिए पनि अस्पताल पुर्याउनासाथ बिहान ९:५० बजे चिकित्सकले मृत घोषणा गरेका थिए।
घटनापछि जिल्ला प्रहरी कार्यालय उदयपुरबाट प्रहरी निरीक्षक बिपेश कुमार देवको कमाण्डमा प्रहरी टोली खटिएको थियो। टोलीले घटनास्थलको मुचुल्का उठाएर कानुनी प्रक्रिया अघि बढाएको छ।
प्रहरीले टिपर चालक त्रियुगा नगरपालिका–७ होक्सेका २८ वर्षीय आशिष माझीलाई नियन्त्रणमा लिएको छ। साथै दुर्घटनामा संलग्न दुवै सवारी साधन पनि नियन्त्रणमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
