काठमाडौँ, चैत ३० गते । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सङ्घीय सरकारको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार र आसपासका क्षेत्रमा इन्टरनेट सेवालाई थप सहज, छिटो र अवरोधरहित बनाउन विशेष पहल सुरु गरेको छ ।
मन्त्रालयले सिंहदरबार क्षेत्रको इन्टरनेट पूर्वाधार व्यवस्थापन गर्दै आएको एकीकृत ‘डाटा’ व्यवस्थापन केन्द्रलाई सेवा सुधारका लागि आवश्यक निर्देशन दिइसकेको छ । यसै सन्दर्भमा मन्त्री डा. विक्रम तिमिल्सिनाले केन्द्रका प्रमुख मनिष भट्टराईसँग छलफल गर्दै सूचना प्रविधि पूर्वाधारलाई सुदृढ बनाउन जोड दिनुभएको छ ।
सोमबार मन्त्रालयमा भएको छलफलमा मन्त्री तिमिल्सिनाले सिंहदरबारभित्रका सम्पूर्ण सरकारी निकायमा गुणस्तरीय इन्टरनेट सेवा सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले इन्टरनेट सेवा कुनै पनि अवस्थामा अवरुद्ध हुन नहुने स्पष्ट पार्दै सेवा प्रदायक तथा सम्बन्धित निकायलाई उच्च सतर्कता अपनाउन निर्देशन दिनुभयो ।
सेवामा अवरोध आउन सक्ने सम्भावित कारणहरूको समयमै पहिचान गरी समाधान गर्नुपर्नेमा जोड दिँदै मन्त्री तिमिल्सिनाले सहकार्य, समन्वय र नियमित अनुगमनलाई अझ प्रभावकारी बनाउन आग्रह गर्नुभयो । डिजिटल सेवाको गुणस्तर सुधारबिना प्रभावकारी प्रशासन सम्भव नहुने उल्लेख गर्दै प्रविधिमा आधारित सेवा प्रवाहलाई सरकारको प्राथमिकतामा राखिएको जानकारी उहाँले दिनुभयो ।
त्यस्तै, प्राविधिक तथा मानवीय त्रुटि न्यूनिकरणका लागि दक्ष जनशक्ति व्यवस्थापन आवश्यक रहेको बताउँदै मन्त्री तिमिल्सिनाले नेपाल टेलिकममार्फत प्राविधिक टोली परिचालन गरी समस्या समाधान गर्न निर्देशन दिनुभएको छ ।
छलफलका क्रममा एकीकृत डाटा व्यवस्थापन केन्द्रका प्रमुख मनिष भट्टराईले सिंहदरबारभित्र इन्टरनेट सेवाको वर्तमान अवस्थाबारे जानकारी गराउँदै केही कार्यालयमा इन्टरनेट सुस्त हुने तथा कहिलेकाहीँ सम्पर्क टुट्ने समस्या देखिएको बताउनुभयो । यस्ता समस्या समाधानका लागि प्राविधिक सुधार र व्यवस्थापनका उपायहरू लागू गरिएको उहाँको भनाइ थियो ।
हाल सिंहदरबार क्षेत्रमा नेपाल टेलिकममार्फत १ जिबिपिएस क्षमताको ब्रोडब्यान्ड सेवा सञ्चालनमा रहेको छ भने ‘जी–क्लाउड’का लागि २५० एमबिपिएस क्षमताको अतिरिक्त सेवा प्रयोग भइरहेको छ । इन्टरनेट अवरोधको मुख्य कारण अप्टिकल फाइबरमा हुने क्षति रहेको उल्लेख गर्दै भट्टराईले विशेषगरी सडक तथा अन्य पूर्वाधार निर्माणका क्रममा फाइबर काटिने समस्या देखिने गरेको बताउनुभयो ।
दीर्घकालीन समाधानका लागि अप्टिकल फाइबरलाई जमिनमुनिबाट व्यवस्थित रूपमा बिछ्याउनुपर्ने आवश्यकता औँल्याइएको छ । साथै, वैकल्पिक इन्टरनेट प्रणालीलाई पुनः सुदृढ बनाउने काम पनि अगाडि बढाइएको छ ।
सरकारले डिजिटल पूर्वाधारलाई मजबुत बनाउँदै सेवा प्रवाहलाई छिटो, पारदर्शी र प्रभावकारी बनाउने लक्ष्य लिएको सन्दर्भमा सिंहदरबार क्षेत्रको इन्टरनेट सेवा सुधार पहललाई महत्वपूर्ण कदमका रूपमा हेरिएको छ ।
