विराटनगर — मुलुकको गौरवको आयोजना मानिएको पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको काँकडभिट्टा–लौकही सडकखण्डको स्तरोन्नति कार्य इन्धन र बिटुमिनको अभावका कारण गम्भीर संकटमा परेको छ।
पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय मूल्यवृद्धि र आपूर्ति असहजताले निर्माण कार्य ठप्प हुने अवस्था सिर्जना भएको छ। सडक कालोपत्रे (पिच) का लागि अत्यावश्यक बिटुमिन बजारमा अभाव र अत्यधिक मूल्यवृद्धि भएपछि निर्माण कम्पनीहरूले काम अघि बढाउन नसक्ने बताएका छन्।
यस सडकखण्डको पूर्वी भाग (काँकडभिट्टादेखि सीतापुरीसम्म) मा इभ्रास्कन कालिका जेभीले तीव्र गतिमा काम गरिरहेको थियो। करिब ४५ किलोमिटरमध्ये झन्डै २२ किलोमिटरमा पहिलो तहको बेस तयार भइसकेको भए पनि पिच गर्ने चरणमै समस्या आएको हो।
आयोजना प्रमुख सीडीई सुनिलबाबु पन्तका अनुसार पुरानो मौज्दातले हालसम्म काम चलेको भए पनि अब अवस्था जोखिमपूर्ण बन्दै गएको छ। बिटुमिन आपूर्तिमा कठिनाइ र मूल्य अनिश्चितताले काम निरन्तरता दिन चुनौती थपिएको उनले बताए।
निर्माण व्यवसायीका अनुसार दैनिक ठूलो परिमाणमा आवश्यक पर्ने डिजेल आपूर्तिमा पनि नेपाल आयल निगमले कोटा कटौती गरेको छ। जसका कारण निर्माण उपकरणहरू पूर्ण क्षमतामा सञ्चालन हुन सकेका छैनन्।
इभ्रास्कन कालिका जेभीका प्रोजेक्ट म्यानेजर उज्ज्वल प्रसाईंका अनुसार आवश्यक २० हजार लिटरको सट्टा अहिले करिब ५–६ हजार लिटर मात्र डिजेल उपलब्ध भइरहेको छ। यसले कामको गति निकै सुस्त बनाएको छ।
निर्माण व्यवसायी महासंघ मोरङका अध्यक्ष महेश मिश्रका अनुसार अहिलेको अवस्थामा पिच गर्ने काम नै सम्भव छैन। बिटुमिनको मूल्य करिब दोब्बर बढेकाले ठेक्का सम्झौताअनुसार काम अघि बढाउन कठिन भएको उनले बताए।
त्यसैगरी निर्माण व्यवसायी संघ झापाका अनुसार साना निर्माण कम्पनीहरूले पिचको काम पूर्ण रूपमा रोकिसकेका छन्।
कोशी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री प्रदीपकुमार सुनुवारले पनि धेरै आयोजना प्रभावित भएको स्वीकार गरेका छन्। उनका अनुसार प्रदेशका करिब १०–१२ अर्ब रुपैयाँ बराबरका आयोजनाहरू जोखिममा छन्।
यदि इन्धन र बिटुमिनको समस्या समाधान नभएमा काँकडभिट्टा–लौकही सडक मात्र होइन, देशभरका ठूला–साना निर्माण आयोजना समेत ठप्प हुने जोखिम बढेको छ।
१० अर्ब ६ करोड रुपैयाँ लागतमा निर्माण भइरहेको यो सडक सम्पन्न भए पूर्वी नेपालमा व्यापार र आवागमन सहज हुने अपेक्षा गरिएको थियो। तर हालको संकटले आयोजना ढिलाइ हुने मात्र होइन, लागत पनि उल्लेख्य बढ्ने देखिएको छ।
