कैलाली । कैलाली र बर्दिया जिल्ला जोड्ने कर्णाली नदीस्थित सनकट्टी घाटमा निर्माणाधीन पुल अन्तिम चरणमा पुगेको छ। १७ असोज २०८३ भित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित काम भइरहेको भए पनि निर्माण कम्पनीले निर्धारित समयअगावै पुल सम्पन्न गर्ने तयारी गरेको जनाएको छ।
निर्माण कम्पनीका इञ्जिनियर धीरेन्द्र सहनीका अनुसार विसं २०७९ पुसमा सम्झौता भई २०८० सालदेखि निर्माण कार्य सुरु गरिएको हो। अहिले पुलको अधिकांश संरचना तयार भइसकेको छ भने असार मसान्तभित्रै काम सम्पन्न गरी सरकारलाई हस्तान्तरण गर्ने लक्ष्य राखिएको छ।
हाल १४ पिलरमध्ये सबै पिलर निर्माण भइसकेका छन् भने १२औँ स्पानको काम अन्तिम चरणमा पुगेको छ। बाँकी काम सकिएपछि १३औँ स्पानको काम सुरु गरिने निर्माण पक्षले जनाएको छ। साथसाथै कैलालीतर्फ तटबन्ध निर्माणको काम पनि जारी रहेको छ।
पुल निर्माणपछि स्थानीयवासीले नदी पार गर्न डुङ्गा प्रयोग गर्नुपर्ने बाध्यता अन्त्य भएको छ। हाल केही स्थानमा आधा निर्माण भएको पुल प्रयोग गर्दै सवारीसाधन आवतजावत गरिरहेका छन्। स्थानीय बासिन्दाका अनुसार पुल सञ्चालनमा आउँदा दैनिक आवतजावत सहज भएको छ र दूरी पनि घटेको छ।
स्थानीयहरूका अनुसार कैलालीका नागरिकको खेतीपाती बर्दियामा रहेको र बर्दियाका नागरिक उपचार तथा किनमेलका लागि कैलालीको टीकापुर जाने भएकाले यो पुल अत्यन्तै महत्वपूर्ण हुनेछ।
स्थानीय झपट कडायतका अनुसार पुल सञ्चालनमा आएपछि सवारी यात्रा सहज हुने मात्र नभई करिब २० किलोमिटर दूरी पनि कम हुनेछ।
बर्दियाका स्थानीय करण चौधरीले पनि पुल निर्माणपछि यात्रा समय उल्लेखनीय रूपमा घटेको बताएका छन्। उनका अनुसार पहिले डेढदेखि दुई घण्टा लाग्ने यात्रा अहिले एक घण्टामै सम्पन्न हुन थालेको छ।
१ अर्ब १८ करोड रुपैयाँ लागतमा निर्माण भइरहेको उक्त पुलको लम्बाइ ७५२ मिटर र चौडाइ ११ मिटर रहेको छ। जसमा ७.५ मिटर सवारी साधनका लागि र बाँकी भाग पैदल यात्रुका लागि छुट्याइएको छ।
निर्माण कम्पनीले पुलसँगै दुवैतर्फ ५०० मिटर पहुँच मार्ग तथा १,०००–१,००० मिटर नदी नियन्त्रण कार्य पनि गरिरहेको छ।
यसअघि स्थानीयले कर्णाली चिसापानी पुल तथा सत्तीघाट पुल प्रयोग गर्दै आएका थिए। नयाँ पुल सञ्चालनमा आएपछि कैलाली र बर्दियाबीचको आवतजावत अझ सहज हुने र सुदूरपश्चिम तथा लुम्बिनी प्रदेशबीचको सम्पर्क थप बलियो हुने अपेक्षा गरिएको छ।
