वीरगन्ज (पर्सा) । पर्साको वीरगन्जमा एक प्रहरी जवानको सामूहिक कुटपिटबाट बीभत्स हत्या भएको छ। आइतबार दिउँसो वीरगन्ज महानगरपालिका–९ मा सप्तरी दरबन्दी भई बिदामा घर आएका प्रहरी जवान विकास चौरसिया कुटपिटपछि ज्यान गुमाएका हुन्।
घटना सार्वजनिक भएलगत्तै जिल्ला प्रहरी कार्यालय पर्साले सक्रियता देखाउँदै हत्यामा संलग्न रहेको आरोपमा चार जना युवालाई नियन्त्रणमा लिएको छ। पर्साका प्रहरी प्रमुख सुदीपराज पाठकका अनुसार अपरान्हतिर केही युवाहरूको समूहले चौरसियामाथि भारी वस्तु प्रहार गर्दै निर्घात कुटपिट गरेका थिए।
सूचना पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेर गम्भीर घाइते अवस्थामा रहेका चौरसियाको उद्धार गरी अस्पताल पुर्याए पनि चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका थिए।
प्रहरीले घटनास्थलबाटै चार जना शंकास्पद व्यक्तिलाई पक्राउ गरेको छ भने उनीहरूको परिचय हाल सार्वजनिक गरिएको छैन। पक्राउ परेकामाथि सूक्ष्म अनुसन्धान भइरहेको र घटनाको वास्तविक कारण पत्ता लगाउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ।
प्रारम्भिक अनुसन्धानमा घटनाको पछाडि प्रेम सम्बन्धको विवाद मुख्य कारण हुन सक्ने आशंका गरिएको छ। प्रहरीका अनुसार मृतक जवानको एक महिलासँग सम्बन्ध रहेको र सोही विषयलाई लिएर उत्पन्न विवादले घटना योजनाबद्ध रूपमा हत्या हुन सक्ने देखिएको छ।
तर घटनाको वास्तविक कारण र सम्पूर्ण विवरण विस्तृत अनुसन्धानपछि मात्रै खुल्ने प्रहरीले जनाएको छ।
