काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङ ले प्रधानमन्त्री तथा मन्त्रीहरूले सार्वजनिक गरेको व्यक्तिगत सम्पत्तिको स्रोत खुलाउन माग गरेका छन्। सरकारले सम्पत्ति विवरण सार्वजनिक गरेलगत्तै उनले यस विषयमा पारदर्शिताको आवश्यकता औँल्याएका हुन्।
साम्पाङले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै सम्पत्ति मात्र होइन, त्यसको स्रोत पनि स्पष्ट रूपमा सार्वजनिक गर्नुपर्ने बताएका छन्। उनका अनुसार स्रोत नखुलाइएको सम्पत्तिलाई पूर्ण रूपमा पारदर्शी मान्न नसकिने भएकाले यसले सार्वजनिक पदमा रहेका व्यक्तिहरूमाथि प्रश्न उठाउने अवस्था सिर्जना गर्छ।
उनले लेखेका छन्, “सरकारमा रहेका सबैको सम्पत्ति यति उति भन्ने आयो। अब त्यसको स्रोत पनि खुलाइदिए राम्रो हुन्छ। स्रोतबिनाको सम्पत्ति त फेरि घुमाइफिराइ भ्रष्टाचार गरेको भन्ने नै बुझिन्छ, त्यसैले स्रोत प्रस्ट हुनुपर्छ।”
सरकारले आइतबार प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको थियो। सो विवरणमा नगद, जग्गा, घर, सेयर, सुनचाँदी तथा विभिन्न लगानीसम्बन्धी विवरण समेटिएको थियो। विवरण सार्वजनिक भएपछि राजनीतिक वृत्तमा यसको पारदर्शिता र कानुनी पक्षबारे बहस सुरु भएको छ।
यसैबीच, विभिन्न राजनीतिक दलका नेताहरू तथा नागरिक समाजका प्रतिनिधिहरूले पनि सार्वजनिक पद धारण गर्ने व्यक्तिहरूको सम्पत्ति विवरणलाई अझ स्पष्ट र प्रमाणसहित सार्वजनिक गर्नुपर्ने माग गर्दै आएका छन्।
सम्पत्तिको स्रोत स्पष्ट नहुँदा भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन गर्ने सरकारी प्रयास कमजोर हुने सम्भावना रहन्छ। त्यसैले सम्पत्ति विवरणसँगै आयको स्रोत र कर तिरेको विवरण समेत सार्वजनिक गर्नुपर्ने बहस पुनः चर्किएको छ।
