म्याग्दी । बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालनमा आएको छ।
आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने उद्देश्यले बेनी नगरपालिकाले मङ्गलाघाटमा उक्त केन्द्र सञ्चालनमा ल्याएको हो। यस केन्द्रबाट बेनीको पश्चिमी क्षेत्रमा पर्ने मङ्गलाघाट–२ बगरफाँट र वडा नं ६ डम्मराका बासिन्दा प्रत्यक्ष लाभान्वित हुने भएका छन्।
पाँच वर्षको प्रयासपछि केन्द्र स्थापना गरिएको सञ्चालक समितिका सदस्य नवराज पौडेलले जानकारी दिए। उनका अनुसार, पहिले सामान्य उपचारका लागि पनि टाढाको अस्पताल वा निजी क्लिनिक धाउनुपर्ने बाध्यता थियो, जसले स्थानीयलाई ठूलो समस्या दिँदै आएको थियो।
“अब टोलमै स्वास्थ्य केन्द्र भएपछि प्राथमिक उपचार, परीक्षण र औषधि लिन सजिलो भएको छ,” उनले भने।
नगरपालिकाले केन्द्रमा एक जना सिनियर अहेव र एक जना स्टाफ नर्स खटाएको छ। यहाँ स्वास्थ्य परीक्षण, खोप सेवा, निःशुल्क औषधि वितरण, परामर्श, गर्भ परीक्षण तथा सुत्केरी घरभेटजस्ता आधारभूत सेवाहरू उपलब्ध छन्। अहिले केन्द्रमा मासिक करिब २०० जनाले सेवा लिइरहेको बताइएको छ।
हाल स्वास्थ्य केन्द्र भाडाको घरमा सञ्चालन भइरहेको छ। नगरपालिकाले विनियोजन गरेको रु १ लाख ५० हजार बजेट अपुग भएपछि स्थानीयवासीले थप रु १ लाख १३ हजार सहयोग संकलन गरेका छन्।
वार्षिक रु ६० हजार घरभाडा तिर्नुपर्ने अवस्थाले नियमित सञ्चालनमा चुनौती देखिएको छ। स्थानीयले केन्द्रका लागि आफ्नै भवन निर्माण र दीर्घकालीन व्यवस्थापनको माग गरेका छन्।
नगरपालिकाले यसअघि पनि सिङ्गा, डडुवा, सेताढुङ्गा, गलेश्वर र तोरीपानी क्षेत्रमा यस्तै सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन गरिसकेको जनाएको छ।
