काठमाडौँ । कालीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना ६४० मेगावाट क्षमतामा निर्माण हुने भएको छ। सुरुमा ८४४ मेगावाट क्षमतामा प्रस्ताव गरिएको आयोजना हालको अध्ययनका क्रममा ६४० मेगावाट उपयुक्त हुने निष्कर्ष निकालिएको हो।
आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (EIA) प्रतिवेदन तयारी भइरहेको छ। प्रस्तावित बाँध सेती नदी र कालीगण्डकी नदीको दोभानबाट करिब १० किलोमिटर माथि उर्लेनी खङ्गकोट, कालीगण्डकी गाउँपालिका–६ (गुल्मी) र बिहादी गाउँपालिका–२ (पर्वत) क्षेत्रमा निर्माण हुने छ।
यस आयोजनामा २४४ मिटर अग्लो बाँध निर्माण गरिनेछ। बाँधमा पानी जम्मा भएपछि करिब २९ किलोमिटर लामो जलाशय बन्नेछ, जुन खनियाघाटसम्म फैलिनेछ। आयोजनाको नेट हेड १८३.४ मिटर रहनेछ भने ४०५ घनमिटर प्रतिसेकेण्ड पानी प्रवाह (डिस्चार्ज) रहनेछ।
वार्षिक रूपमा करिब १,६४५.६५ गिगावाट घण्टा ऊर्जा उत्पादन हुने अनुमान गरिएको छ। आयोजनामा चारवटा स्टिल पेनस्टक र चारवटा फ्रान्सिस टर्बाइन जडान गरिनेछ। विद्युत्गृह पर्वतको बिहादी गाउँपालिका–बर्राचौर क्षेत्रमा प्रस्ताव गरिएको छ।
आयोजनाले पर्वत, बागलुङ, गुल्मी र स्याङ्जाका विभिन्न स्थानीय तहका वडाहरू प्रभावित गर्नेछ। प्रभावित क्षेत्रमा जलजला, कुश्मा, फलेवास, बिहादी, बागलुङ नगरपालिका, जैमिनी नगरपालिका, कालीगण्डकी गाउँपालिका र गल्याङ नगरपालिका रहेका छन्।
प्रस्तावित आयोजना पृथ्वी राजमार्ग, पोखरा–बागलुङ सडकखण्ड, दोबिल्ला–फलेबास सडक, कालीगण्डकी लोकमार्ग र कालीगण्डकी करिडोरमार्फत पहुँचयोग्य हुने बताइएको छ।
आयोजनाको सम्भाव्यता अध्ययन तथा वातावरणीय मूल्याङ्कन विद्युत् विकास विभाग र परामर्शदाता जेभी स्मेक इन्टरनेसनल तथा जेड कन्सल्टले गरिरहेका छन्।
