काठमाडौँ । शिशिर खनाल को सम्पत्ति विवरण सार्वजनिक गरिएको छ। आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार खनालसँग काठमाडौँको टोखामा घरसहित विभिन्न जिल्लामा जग्गाजमिन रहेको देखिएको छ।
विवरणअनुसार काठमाडौँ महानगरपालिका–१० स्थित टोखामा ६ आना क्षेत्रफलमा बनेको घर रहेको छ। त्यस्तै, पुर्ख्यौली तथा स्वआर्जित सम्पत्तिअन्तर्गत तनहुँको भानुमा १५ रोपनी, नवलपरासी पूर्वको देवचुलीमा १२ रोपनी र बाँकेको नेपालगन्जमा २ कठ्ठा जग्गा रहेको उल्लेख गरिएको छ।
नगद तथा जिन्सी सम्पत्तिमा खनालसँग २२ तोला सुन र २५ तोला चाँदी रहेको छ भने करिब १० लाख रुपैयाँ नगद मौज्दात रहेको जनाइएको छ।
लगानीतर्फ उनले विभिन्न कम्पनीहरूमा सेयर स्वामित्व रहेको खुलाएका छन्। पिक एण्ड ड्रप नेपालमा ३३ प्रतिशत, रिग्पा इन्टरनेशनलमा शतप्रतिशत र ताजा एग्रो फार्ममा १६ प्रतिशत सेयर रहेको उल्लेख छ। साथै Global IME Bank लगायत विभिन्न लघुवित्त, जलविद्युत तथा सार्वजनिक कम्पनीहरूमा पनि उनको लगानी रहेको छ।
सवारी साधनतर्फ करिब ४० लाख रुपैयाँमा खरिद गरिएको गाडी प्रयोग गरिरहेको विवरणमा उल्लेख छ। साथै उनले ७५ लाख रुपैयाँ ऋण रहेको पनि खुलाएका छन्।
