काठमाडौँ । स्वर्णिम वाग्ले ले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्, जसअनुसार उनीसँग देशका विभिन्न ९ स्थानमा जग्गा रहेको देखिएको छ।
सार्वजनिक विवरणअनुसार काठमाडौँको चन्द्रागिरीमा ३ रोपनी, ललितपुरको सानेपामा ३.७५ आना, भैसेपाटीमा ४ आना तथा धुलिखेल, बन्दीपुर, गोरखाको शहीद लखन र गोरखा नगरपालिका, चितवनको रत्ननगर र तनहुँको भानु नगरपालिकामा समेत जग्गा रहेको उल्लेख छ।
त्यस्तै, वाग्लेसँग ४५ तोला सुन रहेको छ, जसलाई पारिवारिक तथा रोजगारीबाट आर्जित सम्पत्तिको रूपमा उल्लेख गरिएको छ।
लगानीतर्फ विभिन्न कम्पनीहरूमा गरी करिब १ करोड ९० लाख रुपैयाँ बराबरको लगानी रहेको देखिन्छ। साथै, Shangri-la Development Bank र Sanima Middle Tamor Hydropower मा झण्डै १ लाख कित्ता प्रोमोटर सेयर रहेको उल्लेख छ।
यसका अतिरिक्त अन्य कम्पनीहरूमा करिब ५ करोड ५० लाख रुपैयाँ बराबरको सेयर लगानी रहेको जनाइएको छ।
सवारी साधनतर्फ करिब ९४ लाख रुपैयाँ मूल्य पर्ने ‘सुवानु एसभी’ (SUV) रहेको पनि विवरणमा उल्लेख गरिएको छ।
