काठमाडौँ । सुधन गुरुङ को सम्पत्ति विवरण सार्वजनिक भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार गृहमन्त्री गुरुङ र उनको परिवारको नाममा उल्लेख्य परिमाणमा जग्गा, सेयर लगानी, बैंक मौज्दात, सवारी साधन तथा पैतृक सुन रहेको देखिएको छ ।
व्यक्तिगत रूपमा गुरुङको नाममा धनकुटामा १९ रोपनी १५ आना जग्गा रहेको छ । यस्तै, उनका पिता दिलबहादुर गुरुङको नाममा चितवनमा ३० कठ्ठा जग्गा रहेको उल्लेख छ । अझ रोचक पक्ष भने उनका बाजे रामसल गुरुङको नाममा गोरखाको चुमनुब्री क्षेत्रमा २२१ रोपनी विशाल जग्गा रहेको तथ्य विवरणमा समेटिएको छ ।
सेयर बजारतर्फ पनि गुरुङको उल्लेख्य उपस्थिति देखिएको छ । होप होल्डिङ प्रालिको ३० हजार कित्ता र लगुम प्रिमियर अपार्टमेन्टको ५७ हजार कित्ता सेयर रहेको छ । यसबाहेक धितोपत्र बजारमा कारोबार हुने विभिन्न कम्पनीहरूमा गरेर करिब २ करोड ७४ लाख ५६ हजार रुपैयाँ बराबरको लगानी रहेको जनाइएको छ ।
त्यस्तै, एडभेन्चेर भिल्ला प्रालिको ७० हजार कित्ता सेयर (करिब ७० लाख रुपैयाँ) समेत उनले आफ्नो सम्पत्तिमा उल्लेख गरेका छन् ।
सवारी साधनतर्फ गुरुङसँग लगुम प्रिमियर अपार्टमेन्टअन्तर्गत एक कार रहेको छ, जसको मूल्य ४७ लाख ९९ हजार रुपैयाँ उल्लेख गरिएको छ ।
बैंक मौज्दातअनुसार Laxmi Sunrise Bank मा ५ लाख ३५ हजार रुपैयाँ, Nabil Bank मा ५६ लाख २५ हजार रुपैयाँ र Sanima Bank मा १५ सय रुपैयाँ रहेको देखिएको छ ।
यस्तै, गृहमन्त्री गुरुङसँग ८९ तोला सुन रहेको पनि विवरणमा उल्लेख गरिएको छ, जसलाई पैतृक सम्पत्तिका रूपमा जनाइएको छ ।
