काठमाडौँ । चन्द्रागिरि इन्भेष्टमेन्ट ग्रुप लिमिटेड ले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने निर्णय गरेको छ।
कम्पनीको आज सम्पन्न पहिलो वार्षिक साधारणसभाले आईपीओ जारी गर्ने प्रस्ताव पारित गरेको हो। कम्पनीको अधिकृत पुँजी रु ५० करोड रहेको जानकारी दिइएको छ।
साधारणसभाले चुक्ता पुँजीको चार प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्तावसमेत स्वीकृत गरेको छ। साथै, कम्पनीको सञ्चालक समितिमा छ जना सदस्य निर्विरोध चयन भएका छन्।
निर्वाचित सञ्चालकहरूमा राजन श्रेष्ठ, रामराजा आचार्य, प्रकाशमान श्रेष्ठ, धीरेन्द्र श्रेष्ठ, शङ्कर महर्जन र वीरेन्द्र श्रेष्ठ रहेका छन्।
साधारणसभाले अध्यक्ष राजन श्रेष्ठद्वारा प्रस्तुत वार्षिक प्रतिवेदन तथा लेखापरीक्षकको प्रतिवेदन पनि पारित गरेको छ।
होल्डिङ कम्पनीका रूपमा सञ्चालन भइरहेको यस संस्थाले इन्द्रेणी मशरूम फार्म, द निलय होटल्स लिमिटेड, काउले भाइनियार्ड एग्रो, एभरेष्ट कलर र मेरो किसानलगायत विभिन्न कम्पनीहरूमा लगानी गर्दै आएको अध्यक्ष श्रेष्ठले जानकारी दिए।
