कञ्चनपुर । सुदूरपश्चिम प्रदेशसभा ले ‘सुदूरपश्चिम प्रदेशमा आमसञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने निर्णय गरेको छ।
आज बसेको प्रदेशसभाको बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री हीरा सार्की ले उक्त विधेयकलाई विधायन तथा प्रदेश मामिला समिति मा पठाइयोस् भन्ने प्रस्ताव पेस गरेका थिए। सो प्रस्ताव बैठकबाट सर्वसम्मतिले स्वीकृत भएको हो।
यस्तै, ‘सुदूरपश्चिम प्रदेश जीवनाशक विषादी व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ लाई पनि दफावार छलफलका लागि सामाजिक विकास समिति मा पठाइएको छ। मन्त्री सार्कीले पेस गरेको उक्त प्रस्ताव पनि सर्वसम्मतिले पारित भएको छ।
यसैगरी, प्रदेशसभाअन्तर्गतका दुई विषयगत समितिका सदस्यहरू हेरफेर गर्ने प्रस्ताव पनि पारित भएको छ। सभामुख भीमबहादुर भण्डारी ले निर्णयार्थ प्रस्तुत गरेको प्रस्तावलाई बैठकले स्वीकृति दिएको हो।
स्वीकृत निर्णयअनुसार प्रदेशसभा सदस्य प्रकाशबहादुर देउवालाई सार्वजनिक लेखा समितिबाट सामाजिक विकास समितिमा र खुशीराम डगौरालाई सामाजिक विकास समितिबाट सार्वजनिक लेखा समितिमा सरुवा गरिएको छ।
