काठमाडौँ — काठमाडौँको दक्षिणकाली क्षेत्रमा आइतबार भएको कार दुर्घटनामा एक जनाको मृत्यु भएको छ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार हेटौँडाबाट काठमाडौँ आउँदै गरेको बा.ए.बी–५२८१ नम्बरको कार दक्षिणकाली नगरपालिका–८ स्थित रानिभिरबाट करिब ७ सय मिटर तल खसेको हो।
दुर्घटनामा काठमाडौँ महानगरपालिका–७ का ३४ वर्षीय सुरज खड्काको मृत्यु भएको ट्राफिक प्रहरीका एसपी नरेश सुवेदीले जानकारी दिएका छन्।
प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले दुर्घटनास्थलबाट शव र कार निकाल्ने प्रयास गरिरहेको छ। घटनाबारे प्रहरी प्रभाग फर्पिङले थप अनुसन्धान सुरु गरेको जनाएको छ।
