काठमाडौँ — वन तथा वातावरणमन्त्री गीता चौधरीले वन पैदावारको प्रभावकारी उपयोगमार्फत आर्थिक विकास र रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिएकी छन्। साथै उनले जैविक विविधता र वनस्पति संरक्षण अपरिहार्य रहेको बताएकी छन्।
वनस्पति दिवसका अवसरमा आयोजित कार्यक्रममा मन्त्री चौधरीले जैविक विविधता र वनस्पति संरक्षणबाट खाद्य सुरक्षा, रोजगारी र आर्थिक विकास हासिल गर्न सकिने उल्लेख गरिन्। मानव गतिविधि, जलवायु परिवर्तन र असन्तुलित उपभोगका कारण वनस्पति क्षेत्र संकटमा परेको भन्दै समयमै संरक्षण र व्यवस्थापन नगरे भविष्य नै जोखिममा पर्ने चेतावनी उनले दिइन्।
नेपाल जैविक विविधतामा धनी राष्ट्र भएको उल्लेख गर्दै उनले विशेषगरी जडीबुटी तथा गैरकाष्ठ वन पैदावारका हिसाबले देशको महत्वपूर्ण स्थान रहेको बताइन्। तर, अझै पनि कच्चा पदार्थकै रूपमा निर्यात गर्ने प्रवृत्ति कायम रहेको भन्दै त्यसलाई तोड्न आवश्यक रहेको उनले औंल्याइन्।
मन्त्री चौधरीले जडीबुटीको वैज्ञानिक खेती, प्रशोधन, ब्रान्डिङ र अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी क्षमता विकासका लागि सरकार, निजी क्षेत्र, अनुसन्धान संस्था र स्थानीय समुदायबीच सहकार्य अपरिहार्य रहेको बताइन्।
देशमा उपलब्ध जडीबुटीबाट औषधि उत्पादनको ठूलो सम्भावना रहेको उल्लेख गर्दै उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुसन्धान संस्थासँग सहकार्य गरी औषधि विकासलाई उन्नत स्तरमा पुर्याउनुपर्नेमा जोड दिइन्।
यसैगरी, बौद्धिक सम्पत्ति अधिकार, भौगोलिक सङ्केत दर्ता तथा अनुसन्धान संस्थाको प्रभावकारिता मापनलाई प्राथमिकतामा राख्नुपर्ने उनले बताइन्। परम्परागत ज्ञानको संरक्षण र पुस्तान्तरणका लागि विशेष कार्यक्रम आवश्यक रहेको मन्त्री चौधरीको भनाइ छ।
