हिले, चैत २९ — कोशी राजमार्ग अन्तर्गत धरान–धनकुटा–हिले सडकखण्डका जोखिमयुक्त घुम्तीहरूमा जडान गरिएका ट्राफिक ऐना तोडफोड गरिएका छन्, जसले दुर्घटनाको जोखिम बढाएको छ।
धरानदेखि हिलेसम्म करिब ६५ किलोमिटर सडकखण्डमा राखिएका तीन दर्जनभन्दा बढी कन्भेक्स ट्राफिक ऐना फुटाइएको स्थानीयले बताएका छन्। कतिपय स्थानमा ऐना जडान गरिएका डण्डासमेत भाँचिएको छ।
ट्राफिक प्रहरी कार्यालय धनकुटाका अनुसार ऐना कसले र किन तोडफोड गरेको भन्नेबारे हालसम्म कुनै जानकारी प्राप्त भएको छैन। अज्ञात व्यक्तिहरूले कसैले नदेख्ने गरी ऐना फुटाउने गरेको अनुमान गरिएको छ।
दुर्घटना न्यूनीकरणका लागि स्थानीय क्लब तथा समूहले रकम सङ्कलन गरेर विपरीत दिशाबाट आउने सवारीसाधन देख्न मिल्ने गरी यी सुरक्षा ऐना जडान गरेका थिए। कन्भेक्स प्रकारका ऐनाले फराकिलो दृश्य दिने भएकाले सवारी चालकलाई घुम्तीमा सजग रहन सहयोग पुग्दै आएको थियो।
सवारी चालक देवी ओझाका अनुसार यस्ता ऐनाले दुर्घटना रोक्न महत्वपूर्ण भूमिका खेलेका थिए। अर्का चालक ज्ञानबहादुर कटवालले ऐना नहुँदा घुम्तीमा आउँदै गरेको सवारी समयमै नदेखिने हुँदा गाडी चलाउन कठिन भएको बताए।
उक्त सडकखण्ड साँघुरो, घुम्तीदार तथा उकालो–ओरालो भएकाले दुर्घटनाको जोखिम उच्च रहने गरेको छ। सार्वजनिक सुरक्षासँग सम्बन्धित सामग्री तोडफोड गरिनुले थप जोखिम बढाएको भन्दै स्थानीय र सवारी चालकहरूले दोषीलाई कारबाही गर्न तथा पुनः ऐना जडान गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।
