काठमाडौँ — धनुषाको गणेशमान चारनाथ नगरपालिका–५ स्थित कमला खोलामा पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु भएको छ।
मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका–६ का १८ वर्षीय महमद आयन कमड रहेको सशस्त्र प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार उनी चैत २८ गते साथीहरूसँग पिकनिक गएका बेला खोलामा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए।
घटनालगत्तै सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस रघुनाथपुर र प्रहरी चौकी चिसापानीबाट खटिएको टोलीले खोजी कार्य गरे पनि उनलाई तत्काल फेला पार्न सकेको थिएन।
आज पुनः सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीबाट खटिएको गोताखोरसहितको टोलीले उनको शव फेला पारेको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ।
