काठमाडौँ — नेपाल निर्माण व्यवसायी महासंघले देशभरका विकास निर्माणका कामहरू हालको अवस्थामा अघि बढाउन कठिन भएको जनाएको छ। महासंघका अनुसार अप्रत्याशित मूल्यवृद्धि र निर्माण सामग्रीको चरम अभावका कारण अधिकांश आयोजना ठप्प हुने जोखिममा पुगेका छन्।
महासंघका अध्यक्ष निकोलस पाण्डेले वर्तमान परिस्थितिमा काम जारी राख्नु “अप्ठ्यारो मात्र नभई असम्भव” जस्तै भएको बताएका छन्। उनका अनुसार सडक निर्माणमा प्रयोग हुने बिटुमिन, केरोसिन र डिजेलजस्ता पेट्रोलियम पदार्थको हिस्सा ठूलो रहे पनि हाल ती सामग्रीको आपूर्ति र मूल्य दुवै अस्थिर बनेका छन्।
उनले डिजेलको मूल्य प्रतिलिटर २०२ रुपैयाँ पुगेको उल्लेख गर्दै बजारमा यसको सहज उपलब्धता समेत नरहेको बताए। इन्धन तथा निर्माणजन्य सामग्रीको अभावका कारण काम पूर्ण रूपमा प्रभावित भएको उनको भनाइ छ।
ढुंगा, गिटी र बालुवाजस्ता नदीजन्य सामग्री उत्खननका मापदण्ड अत्यन्तै जटिल भएको भन्दै उनले स्थानीय तह र प्रशासनले कामको सिजनमा क्रसर उद्योगलाई अवैध देख्ने प्रवृत्तिप्रति आपत्ति जनाएका छन्। वातावरणीय सन्तुलन कायम राख्दै व्यावहारिक मापदण्ड बनाउन उनले सरकारसँग आग्रह गरेका छन्।
मध्यपूर्वमा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा समेत मूल्यवृद्धि बढेकाले निर्माण कार्य थप प्रभावित भएको महासंघले जनाएको छ। महासंघले हाल काम गर्न नसक्ने व्यवसायीलाई काम अघि नबढाउन सुझाव दिँदै म्याद थपका लागि पहल गर्ने र काम गरिरहेकाका लागि उचित मूल्य समायोजन आवश्यक रहेको बताएको छ।
महासंघले भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रीले मूल्य समायोजनका विषयमा सकारात्मक प्रतिबद्धता जनाएको उल्लेख गर्दै यसै हप्ताभित्र ठोस समाधान आउने अपेक्षा गरेको छ।
