काठमाडौँ — सभामुख डोलप्रसाद अर्यालले देश र जनताको हितलाई केन्द्रमा राख्दै तटस्थ र निष्पक्ष रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
नेपाल पत्रकार महासङ्घ धादिङले आइतबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले कानुन निर्माण र कार्यान्वयन प्रक्रियालाई निष्ठा र निष्पक्षताका साथ अघि बढाउने बताएका हुन्।
सभामुख अर्यालले संविधान संशोधन तथा नयाँ कानुन निर्माणमा सहजकर्ताको भूमिकामा रहेर जनतामुखी काम गर्ने उल्लेख गरे। उनले विकास, समृद्धि र जनताको खुशी ढिलाइ नगरी सुनिश्चित गर्नुपर्ने आवश्यकता औंल्याउँदै सबैले प्रत्यक्ष रूपमा महसुस गर्ने गरी काम गर्ने बताए।
उनका अनुसार जनताले प्रत्यक्ष लाभ पाउने गरी कानुन निर्माण प्रक्रियालाई ‘फास्ट ट्रयाक’ बाट अघि बढाइनेछ। साथै उनले बुढीगण्डकी जलाशययुक्त आयोजना कार्यान्वयनका लागि सरकारलाई निरन्तर दबाब दिने प्रतिबद्धता पनि जनाए।
सभामुख अर्यालले आफ्नो कार्यकालमा देश र जनतालाई केन्द्रमा राखेर काम गर्ने दोहोर्याउँदै निष्पक्ष र पारदर्शी भूमिकामा रहने बताएका छन्।
