काठमाडौँ— वन तथा वातावरण मन्त्री गीता चौधरी ले नेपालमा पाइने जडीबुटीबाट औषधि उत्पादनको ठूलो सम्भावना रहेको बताएकी छन्।
वनस्पति विभाग को ६६औँ वार्षिकोत्सव तथा २७औँ वनस्पति दिवसको अवसरमा आइतबार आयोजित कार्यक्रममा उनले यस्तो धारणा व्यक्त गरेकी हुन्। उनले उपलब्ध सम्भावनालाई अझै प्रारम्भिक चरणमै सीमित राखिएको भन्दै यसको व्यावसायिक विकासमा ढिलाइ भइरहेको बताइन्।
मन्त्री चौधरीले विभागलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुसन्धान संस्थासँग सहकार्य गरेर कम्तीमा प्रि–क्लिनिकल ट्रायलसम्म पुग्ने वातावरण तयार गर्न निर्देशन दिइन्। उनका अनुसार यसले नेपाललाई औषधि उत्पादनको क्षेत्रमा नयाँ उचाइमा पुर्याउन सहयोग पुर्याउनेछ।
उनले विभागले विकास गरेका विभिन्न फर्मुलाहरूलाई सरकारी तथा निजी क्षेत्रसँग सहकार्य गरी व्यावसायिक उत्पादनमा लैजान सकिने उल्लेख गरिन्। यसबाट राजश्व वृद्धि, उद्योग स्थापना र रोजगारी सिर्जनामा टेवा पुग्ने उनको भनाइ छ।
अनुसन्धानमूलक उपलब्धिलाई व्यवहारमा ल्याउन ढिलाइ नगर्न आग्रह गर्दै उनले वैज्ञानिकहरूलाई प्रोत्साहन गर्ने नीति आवश्यक रहेको पनि बताइन्। वनस्पति तथा जडीबुटी क्षेत्रलाई आर्थिक विकासको मुख्य आधारका रूपमा विकास गर्नुपर्नेमा उनले जोड दिइन्।
मन्त्री चौधरीका अनुसार ग्रामीण क्षेत्रको गरिबी न्यूनीकरण, रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा जडीबुटी क्षेत्रले महत्वपूर्ण योगदान दिन सक्छ। सरकारले यस क्षेत्रको विकासका लागि आवश्यक नीति, ऐन तथा कानुनी सुधार गर्न प्रतिबद्धता जनाएको पनि उनले स्पष्ट पारिन्।
कार्यक्रममा विभागले नेपालका वनस्पतिको वैज्ञानिक अभिलेखीकरण गरी ‘वृहत् नेपाल फ्लोरा’ प्रकाशन गर्ने तयारी गरिरहेको जानकारी दिइयो। हालसम्म ६ सय ५८ प्रजातिका वनस्पति अभिलेखीकरण भइसकेका छन्।
साथै, वनस्पतिक स्रोतको संरक्षण तथा विकासमा योगदान पुर्याउने व्यक्तित्वहरूलाई कार्यक्रममा सम्मान पनि गरिएको थियो।
