काठमाडौँ— सिंहदरबार मा प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक आइतबार पनि जारी रहेको छ। बैठकले नयाँ नियमावली तर्जुमा गर्ने कार्यलाई निरन्तरता दिएको हो।
प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समिति का सभापति गणेश पराजुली को नेतृत्वमा १५ सदस्यीय समितिले संसद् सञ्चालनलाई अझ प्रभावकारी बनाउने उद्देश्यसहित नयाँ नियमावलीमाथि छलफल गरिरहेको छ।
समितिका सदस्यहरूले विभिन्न अध्याय र दफाहरूमा संशोधन प्रस्ताव प्रस्तुत गर्दै छलफल अघि बढाइरहेका छन्। बैठकमा संसद् सञ्चालन प्रक्रियालाई समयसापेक्ष बनाउने, कार्यक्षमता बढाउने तथा पारदर्शिता सुदृढ गर्ने विषयमा विशेष जोड दिइएको छ।
समितिको काम तीव्र गतिमा अघि बढिरहेको बताइएको छ। बैठकका निष्कर्षका आधारमा तयार हुने नयाँ नियमावली निकट भविष्यमा प्रतिनिधिसभा मा पेस गरिने अपेक्षा गरिएको छ।
समितिका सबै सदस्यहरूको सक्रिय सहभागितासहित भइरहेको छलफलले संसद् सञ्चालनका पुराना अभ्यासमा सुधार गर्दै आधुनिक संसदीय प्रणालीलाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने विश्वास लिइएको छ।
