न्यूयोर्क । इरानले स्ट्रेट अफ होर्मुजमा आवागमन गर्ने जहाजहरूबाट शुल्क उठाउने प्रस्ताव अन्तर्राष्ट्रिय कानुनविरुद्ध हुने भन्दै विश्व समुदायले अस्वीकार गर्नुपर्ने संयुक्त राष्ट्रसंघ मातहतको अन्तर्राष्ट्रिय समुद्री नियामक निकाय (IMO) का प्रमुखले बताएका छन् ।
आइएमओका महासचिव आर्सेनियो डोमिङ्ग्वेजले अल जजिरासँगको अन्तर्वार्तामा कुनै पनि देशले अन्तर्राष्ट्रिय जलमार्गमा शुल्क वा कर लगाउने अधिकार नरहेको स्पष्ट पारेका छन् । “देशहरूले यस्ता स्ट्रेटमा शुल्क वा कर लगाउने व्यवस्था गर्न सक्दैनन्,” उनले भने, “यस प्रकारको अभ्यास अन्तर्राष्ट्रिय कानुनको प्रतिकूल हुन्छ र यसले गलत नजिर बसाल्छ।”
इरानी अधिकारीहरूले युद्धपछि पनि स्ट्रेट अफ होर्मुज प्रयोग गर्ने जहाजहरूबाट शुल्क उठाउने अधिकार माग गरिरहेका छन् भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वाशिङ्टन र तेहरानबीच संयुक्त शुल्क संकलन संयन्त्रको सम्भावना पनि अघि सारेका छन् ।
यसैबीच अमेरिका र इरानबीचको युद्धविराम प्रक्रिया अझै अनिश्चित अवस्थामा रहेको बताइएको छ । इस्लामाबादमा भएको वार्तामा कुनै ठोस सहमति हुन नसकेको र आणविक कार्यक्रमसम्बन्धी विवाद प्रमुख अड्चन बनेको उल्लेख छ ।
दुई पक्षबीच जारी तनावका कारण हर्मुज जलडमरूमध्य हुँदै हुने जहाज आवागमन प्रभावित भएको छ, जसले खाडी क्षेत्रबाट हुने तेल तथा ग्यास आपूर्तिमा समेत असर पारेको अन्तर्राष्ट्रिय रिपोर्टहरूमा उल्लेख छ ।
