भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई भारत भ्रमणका लागि औपचारिक निमन्त्रणा पठाएको दाबी गरिएको छ । मौरिससमा आयोजित हिन्द महासागर सम्मेलनको साइडलाइनमा भारतीय समाचार च्यानलका पत्रकार सिद्धान्त सिबलसँग कुरा गर्दै परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री शाहको सम्भावित भारत भ्रमण र नेपालको नयाँ परराष्ट्र नीतिबारे जानकारी दिएका हुन् ।
परराष्ट्रमन्त्री खनालका अनुसार नेपालमा निर्वाचन सम्पन्न भएपछि भारतीय प्रधानमन्त्री मोदीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र प्रधानमन्त्री शाहलाई टेलिफोन गरी बधाई दिएका थिए । सोही क्रममा मोदीले प्रधानमन्त्री शाहलाई भारत भ्रमणको निमन्त्रणा दिएको र प्रधानमन्त्री शाहले त्यसलाई स्वीकार गरेको खनालले स्पष्ट पारेका छन् ।
तर भारत भ्रमणको मिति भने अझै तय भइसकेको छैन । मौरिससमै भारतीय विदेशमन्त्री एस. जयशंकरसँग भएको पहिलो भेटवार्तामा परराष्ट्रमन्त्री खनालले द्विपक्षीय सम्बन्ध र सम्भावित उच्चस्तरीय भ्रमणबारे छलफल गरेका थिए ।
नयाँ सरकार गठन भएको करिब दुई हप्ता मात्र भएकाले अहिले सरकार आन्तरिक प्राथमिकता निर्धारणमा केन्द्रित रहेको र सोही कुरा भारतीय पक्षलाई जानकारी गराइएको उनले बताए । नेपाल–भारतबीच करिब ४० वटा द्विपक्षीय संयन्त्र सक्रिय रहेको उल्लेख गर्दै ती संयन्त्रमार्फत सहकार्य अघि बढाइने उनले जनाए ।
जयशंकरसँगको छलफलमा नेपालले पहिले आफ्ना आन्तरिक प्राथमिकता तय गर्ने र त्यसपछि उच्चस्तरीय भ्रमणहरू अघि बढाउने समझदारी भएको पनि उनले खुलाए । प्रधानमन्त्री शाहको भारत भ्रमणको उपयुक्त समय दुवै देशका संयन्त्रहरूले निर्धारण गर्ने बताइएको छ ।
परराष्ट्र नीतिबारे बोल्दै मन्त्री खनालले नेपालले सरकार परिवर्तन भए पनि परराष्ट्र नीतिको निरन्तरता कायम रहने स्पष्ट पारेका छन् । संविधानले नै परराष्ट्र नीतिका आधारभूत सिद्धान्तहरू—सार्वभौमसत्ता, क्षेत्रीय अखण्डता, असंलग्नता र स्वतन्त्र परराष्ट्र नीति—निर्दिष्ट गरेको उनले उल्लेख गरे ।
नेपालले छिमेकी तथा अन्य साझेदार राष्ट्रसँगको सम्बन्धलाई राष्ट्रिय हित र आर्थिक विकाससँग जोडेर अघि बढाउने नीति लिएको पनि उनले बताए । सरकारका सबै कूटनीतिक प्रयासहरू द्रुत आर्थिक विकास र राष्ट्रिय स्वार्थमा केन्द्रित हुने परराष्ट्रमन्त्री खनालको भनाइ छ ।
