पश्चिमी अफगानिस्तानको हेरात प्रान्तमा भएको एक दर्दनाक गोलीकाण्डमा कम्तीमा ११ जनाको मृत्यु भएको छ। हेरातको एन्जिल जिल्लास्थित देह मेहरी गाउँ नजिक रहेको पिकनिक स्थलमा बन्दुकधारीहरूले अन्धाधुन्ध गोली चलाउँदा उक्त घटना भएको हो।
स्थानीय अधिकारीहरूका अनुसार सुरुमा चार जनाको घटनास्थलमै मृत्यु भएको थियो। तर गम्भीर घाइते भएका थप सात जनाको उपचारका क्रममा ज्यान गएपछि मृतक संख्या ११ पुगेको हो। घाइतेहरूलाई हेरात सहरस्थित अस्पतालमा लगेर उपचार गरिएको थियो।
चिकित्सकहरूको भनाइ अनुसार आक्रमणमा परेकाहरू सिया मुस्लिम समुदाय का सदस्य थिए। उनीहरू स्थानीय धार्मिक स्थल नजिक पिकनिक मनाउन गएका बेला लक्षित रूपमा आक्रमण भएको बताइएको छ। अफगानिस्तानमा सिया समुदाय अल्पसंख्यक भएकाले विगतमा पनि उनीहरू बारम्बार हिंसात्मक घटनाको सिकार हुँदै आएका छन्।
अफगानिस्तान गृह मन्त्रालय का प्रवक्ताका अनुसार मोटरसाइकलमा आएका अज्ञात बन्दुकधारीहरूले भीडभाड हुने उक्त क्षेत्रमा अचानक गोली चलाएका थिए। घटना स्थानीय समयअनुसार दिउँसो करिब ३ बजे भएको जनाइएको छ।
तालिबान सरकारका हेरातका सूचना तथा संस्कृतिका प्रमुख अहमदुल्लाह मुत्ताकी ले यसलाई आतंकवादी हमला भएको बताएका छन्। उनका अनुसार घटनास्थलबाट चार शव र १५ जना घाइतेलाई अस्पताल पुर्याइएको थियो, जसमा दुई महिला पनि रहेका छन्।
सुरक्षाकर्मीहरूले घटनामा संलग्न एक जना संदिग्धलाई पक्राउ गरिसकेको जनाएका छन् भने हालसम्म कुनै पनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन। यस घटनाले पुनः अफगानिस्तानमा सुरक्षा अवस्था र धार्मिक अल्पसंख्यकको सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ।
