काठमाडौँ । धादिङ जोड्ने नेपालको पहिलो आधुनिक सुरुङमार्ग नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको अन्तिम तयारीमा पुगेको छ। देशको यातायात पूर्वाधारमा नयाँ युगको सुरुवात गर्ने अपेक्षा गरिएको यो परियोजना बहुआयामिक महत्त्वको मानिन्छ।
यस सुरुङमार्गको औपचारिक शिलान्यास केपी शर्मा ओली ले २०७६ कात्तिकमा गरेका थिए। सुरुवाती लागत करिब २२ अर्ब रुपैयाँ अनुमान गरिए पनि भूगर्भीय समस्या, डिजाइन परिवर्तनलगायत कारणले लागत बढेर २७ अर्ब रुपैयाँभन्दा बढी पुगेको छ।
परियोजना जापान सरकारको सहुलियतपूर्ण ऋण सहयोगमा निर्माण गरिएको हो, जसको जिम्मा जापानी कम्पनी हाजमा–आन्दो जेभीले पाएको थियो। प्रारम्भिक लक्ष्य ४२ महिनाभित्र सम्पन्न गर्ने रहे पनि विभिन्न प्राविधिक र भौगोलिक समस्याका कारण समय लम्बिँदै २०८२ सालमा आएर निर्माण कार्य सम्पन्न भएको छ। हाल धादिङ क्षेत्रमा पहिरो नियन्त्रण तथा टोल गेट निर्माणको काम भइरहेको छ।
सुरुङमार्ग सञ्चालनको ठेक्का भने चिनियाँ कम्पनी संलग्न ज्वाइन्ट भेन्चर युक्सिन–एआरटी ले पाँच वर्षका लागि करसहित करिब १ अर्ब १० करोड रुपैयाँमा पाएको छ।
यसैबीच भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय ले सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनका लागि शुल्कसमेत सार्वजनिक गरिसकेको छ। राजपत्रमा प्रकाशित निर्णयअनुसार कार, भ्यान, पिकअप, माइक्रोबसजस्ता हलुका सवारी काठमाडौँ प्रवेश गर्दा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ लाग्नेछ।
त्यस्तै मिनिबस तथा साना ट्रकका लागि प्रवेश शुल्क ११५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ तोकिएको छ भने बस तथा सिङ्गल रियर एक्सल ट्रकका लागि क्रमशः २६० र २०० रुपैयाँ लाग्नेछ। मल्टि एक्सल ट्रक तथा भारी उपकरणका लागि प्रवेश गर्दा ६०० र बाहिरिँदा २५० रुपैयाँ तोकिएको छ।
यो सुरुङमार्ग सञ्चालनमा आएपछि काठमाडौँ–धादिङ सडक यात्रा सहज, सुरक्षित र छिटो हुने अपेक्षा गरिएको छ।
