उत्तर प्रदेश । भारतको उत्तर प्रदेशस्थित यमुना नदीमा श्रद्धालुहरू सवार डुङ्गा पल्टिँदा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ११ पुगेको छ। दुर्घटना भएको एक दिन बितिसक्दा पनि ५ जना अझै बेपत्ता रहेको त्यहाँको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार डुङ्गामा सवार श्रद्धालुहरू यात्राका क्रममा नदीमा पल्टिएपछि ठूलो मानवीय क्षति भएको हो। उद्धार टोलीले हालसम्म २२ जनालाई जीवितै उद्धार गरी उपचारका लागि नजिकैका अस्पतालहरूमा पठाएको छ।
बेपत्ताहरूको खोजीका लागि स्थानीय प्रशासन, प्रहरी र उद्धार टोली परिचालन गरिएको छ। नदीमा डुबेका यात्रुहरूको खोजी कार्य जारी रहेको जनाइएको छ।
घटनाको कारणबारे अनुसन्धान भइरहेको छ भने प्रारम्भिक रूपमा क्षमता भन्दा बढी यात्रु राखिएको र सुरक्षा सावधानीको कमीका कारण दुर्घटना भएको आशंका गरिएको छ।
