काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो एक वर्षमा देशभर कुल ७ हजार ६४८ वटा विपद्का घटना दर्ता भएका छन्। तीमध्ये आगलागी र डढेलोसम्बन्धी घटनाहरू सबैभन्दा बढी रहेको देखिएको छ।
प्राधिकरणका तथ्यांकअनुसार गत वैशाख १ गतेदेखि चैत २७ गतेसम्म मात्र देशभर ३ हजार ७२० वटा आगलागीका घटना भएका छन्। आगलागीका कारण १०५ जनाको मृत्यु भएको छ भने ५७१ जना घाइते भएका छन्। यस अवधिमा ४ हजार २६० परिवार प्रभावित भएका छन्।
त्यसैगरी सोही अवधिमा ३२८ वटा डढेलोका घटना भएको प्राधिकरणले जनाएको छ। डढेलोमा परी २ जनाको मृत्यु, ३ जना घाइते र ५८ परिवार प्रभावित भएका छन्।
प्राधिकरणले आगलागीका घटनाको प्रमुख कारण जनचेतनाको कमी, सावधानीको अभाव तथा सुक्खा मौसममा ज्वलनशील सामग्रीको गलत व्यवस्थापन रहेको जनाएको छ। विशेषगरी वन क्षेत्रमा सुकेको पात–पतिङ्गरमा आगो लगाउने प्रवृत्ति डढेलोको प्रमुख कारण बन्ने गरेको छ।
हालको तथ्यांकअनुसार चैत २७ गते बिहानदेखि २८ गते बिहानसम्म मात्र देशभर १९ विपद्का घटना भएका छन्, जसमा १६ वटा आगलागीका घटना रहेका छन्। यसले सुक्खा मौसममा आगलागीको जोखिम अझै उच्च रहेको देखाएको छ।
प्राधिकरणले आगलागी न्यूनीकरणका लागि ज्वलनशील पदार्थ सुरक्षित स्थानमा राख्न, विद्युत् सर्ट सर्किटप्रति सावधानी अपनाउन तथा जनचेतनामूलक अभियानलाई तीव्र बनाउन आग्रह गरेको छ। वन तथा वातावरण मन्त्रालयले पनि डढेलो नियन्त्रणका लागि सम्बन्धित निकायलाई सक्रिय रूपमा परिचालन गरेको जनाएको छ।
