ललितपुर । ब्लड डोनर्स एसोसिएसन नेपाल (ब्लोदान) अन्तर्गत ललितपुर जिल्ला शाखाको महालक्ष्मी नगर समिति गठन तथा रक्तदानसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
प्रकाश पराजुलीको अध्यक्षतामा १५ सदस्यीय महालक्ष्मी नगर समिति गठन गरिएको हो। समितिमा धनबहादुर श्रेष्ठ, शुष्मा श्रेष्ठ, रवि महर्जन, विन्देश नगरकोटी, प्रल्हाद सिलवाल, प्रभाकर सिलवाल, पुष्कर केसी, सुरेश थापा, परेश गजुरेल, विष्णुकुमार श्रेष्ठ, विद्या शाक्य, रामशरण पौडेल र हरि कार्की सदस्य रहेका छन्।
ब्लोदान ललितपुर जिल्ला शाखाका अध्यक्ष सानुलाल महर्जनको सभापतित्व तथा ब्लोदानका केन्द्रीय अध्यक्ष राजेश श्रेष्ठको प्रमुख आतिथ्यतामा शनिबार सम्पन्न कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्तसञ्चार सेवाका उपनिर्देशक डा. प्रकाश यादवले रक्तसञ्चार सेवासम्बन्धी विस्तृत जानकारी दिएका थिए।
कार्यक्रममा ब्लोदानका महासचिव मचाकाजी महर्जनले स्वयम्सेवी रक्तदानको महत्वबारे कार्यपत्र प्रस्तुत गरेका थिए। प्रमुख अतिथि राजेश श्रेष्ठले ब्लोदानको उद्देश्यबारे प्रकाश पार्दै महालक्ष्मी नगर समितिको गठनले स्थानीय स्तरमा स्वयम्सेवी रक्तदान अभियानलाई अझ प्रभावकारी बनाउने विश्वास व्यक्त गरे।
कार्यक्रममा सरस्वती महर्जनले स्वागत मन्तव्य राखेकी थिइन् भने नवीन श्रेष्ठले कार्यक्रम सञ्चालन गरेका थिए। कार्यक्रम चन्द्रसूर्य पुस्तकालयको ५४औँ वार्षिकोत्सवको अवसरमा तथा याउँ नेवा: फुड एन्ड होम स्टेको सहयोगमा आयोजना गरिएको हो।
नयाँ समिति गठनसँगै महालक्ष्मी क्षेत्रमा रक्तदान संस्कृतिलाई अझ संस्थागत र सक्रिय बनाउने अपेक्षा गरिएको छ।
