इस्लामावाद । इरानसँग युद्ध अन्त्य तथा तनाव कम गर्ने उद्देश्यले पाकिस्तानको इस्लामावादमा भएको उच्चस्तरीय वार्ता बिना कुनै औपचारिक सम्झौता नै टुंगिएपछि अमेरिकी प्रतिनिधिमण्डल स्वदेश फर्किएको छ।
अमेरिकी उपराष्ट्रपति जेडी भान्स नेतृत्वको प्रतिनिधिमण्डल वार्ता निष्कर्षविहीन भएपछि इस्लामावादबाट प्रस्थान गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। अमेरिकाको प्रमुख सरकारी विमान एयरफोर्स टु उडान भर्ने तयारीमा रहेको र प्रतिनिधिमण्डल फर्किन लागेको खबर द न्युयोर्क टाइम्सले पनि उल्लेख गरेको छ।
वार्ता सम्पन्न भएपछि होटल सेरेनामा पत्रकारहरूसँग संक्षिप्त कुरा गर्दै उपराष्ट्रपति भान्सले इरान अमेरिकी प्रस्ताव स्वीकार गर्न तयार नभएको बताएका थिए। यद्यपि उनले अस्वीकार गरिएका विशेष बुँदाबारे खुलाएका छैनन्।
भान्सका अनुसार अमेरिका वार्तामा लचिलो रहे पनि आफ्ना “रेड लाइन” स्पष्ट रूपमा राखिएको थियो। उनले भने, “हामीले केमा लचिलो हुन सक्छौं र केमा सक्दैनौं भन्ने स्पष्ट रूपमा भन्यौं, तर उनीहरूले ती सर्त स्वीकार गरेनन्।”
त्यसैबीच उनले वार्ता पूर्ण रूपमा असफल भएको घोषणा भने नगरेको उल्लेख गर्दै अमेरिका अझै अन्तिम प्रस्तावसहित पर्खाइमा रहेको संकेत गरेका छन्। उनले भने, “हामी यहाँबाट हाम्रो अन्तिम र सबैभन्दा राम्रो प्रस्ताव छाडेर जाँदैछौं, अब इरानले स्वीकार गर्छ कि गर्दैन हेर्नेछौं।”
वार्ताका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग पटक–पटक फोन संवाद भएको पनि बताइएको छ।
वार्तामा अमेरिकी पक्षबाट विशेष दूत स्टिभ विटकफ र ट्रम्पका ज्वाइँ जारेड कुश्नर सहभागी थिए। इरानी पक्षबाट भने संसद सभामुख मोहम्मद बाघेर गालीबाफ र विदेशमन्त्री अब्बास अरागचीले प्रतिनिधित्व गरेका थिए।
वार्ता बिना निष्कर्ष टुंगिएसँगै पश्चिम एसियाली तनाव अझै अनिश्चित बनेको छ भने आगामी कूटनीतिक पहल कस्तो हुने भन्ने विषयमा चासो बढेको छ।
