विराटनगर । भारतको जोगवनीबाट लागुऔषध लिएर नेपाल फर्किँदै गरेका धनकुटाका एक युवकलाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ।
पक्राउ पर्नेमा धनकुटा नगरपालिका–६ का २६ वर्षीय झुमबहादुर भुजेल रहेका छन्। मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी लीलाराज लामिछानेका अनुसार शनिबार दिउँसो करिब २ बजे विराटनगर महानगरपालिका–१५ स्थित १ नम्बर ढाटबाट उनलाई नियन्त्रणमा लिइएको हो।
प्रहरीका अनुसार जोगवनीबाट नेपालतर्फ पैदल आउँदै गर्दा शंका लागेपछि उनलाई रोकी खानतलासी गरिएको थियो। जाँचका क्रममा भुजेलको साथबाट १८ ग्राम २३० मिलिग्राम खैरो हेरोइन फेला परेको प्रहरीले जनाएको छ।
डीएसपी लामिछानेका अनुसार पक्राउ परेका युवकलाई लागुऔषधसम्बन्धी मुद्दामा आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको छ। प्रहरीले सीमावर्ती क्षेत्रमा लागुऔषध ओसारपसार नियन्त्रण गर्न चेकिङलाई अझ कडा बनाइएको जनाएको छ।
