चितवन । गृहमन्त्री सुधन गुरुङ मध्यरातमा चितवनको भरतपुरस्थित नेपाल प्रहरी शिक्षालय पुगेका छन्। उनलाई शिक्षालयमा उच्च प्रहरी अधिकारीहरूले स्वागत गरेका थिए।
गृहमन्त्री गुरुङलाई स्वागत गर्न बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) दीपक रेग्मी, नेपाल प्रहरी शिक्षालयकी समादेशक प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) तारादेवी थापा तथा जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक (एसपी) एकनारायण कोइरालालगायत उच्च अधिकारीहरू उपस्थित थिए।
मध्यरातमा भएको उक्त भ्रमणका क्रममा मन्त्री गुरुङले शिक्षालयको समग्र अवस्थाबारे जानकारी लिएका थिए। उनले त्यहाँ उपस्थित प्रहरी अधिकृतहरूसँग संक्षिप्त छलफल पनि गरेका थिए।
यस प्रकारको आकस्मिक भ्रमणलाई सुरक्षा निकायको कामकारबाही बुझ्ने, मनोबल उच्च बनाउने तथा स्थानीय सुरक्षा अवस्थाबारे प्रत्यक्ष जानकारी लिने प्रयासका रूपमा लिइएको छ। प्रहरी स्रोतका अनुसार मन्त्रीको उपस्थितिले प्रशिक्षण तथा सुरक्षा व्यवस्थापनको अवस्थाबारे थप समीक्षा गर्न सहयोग पुगेको छ।
