काठमाडौँ । काठमाडौँको बल्खुस्थित कुमारी क्लब नजिकै गरिएको विशेष चेकिङका क्रममा लागुपदार्थ सेवन (लापसे) गरी सवारी साधन चलाइरहेका दुई जना चालकलाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा यात्रुवाहक हाईस र ईभी माइक्रोबसका चालक रहेका छन्। उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्यूरो र ट्राफिक प्रहरी प्रभाग बल्खुको संयुक्त टोलीले शनिबार सञ्चालन गरेको चेकिङ अभियानका क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
प्रहरीका अनुसार नेपाल प्रहरी अस्पतालको प्राविधिक टोलीले परीक्षण गर्दा दुवै चालकले लागुपदार्थ सेवन गरेको पुष्टि भएको थियो। सार्वजनिक यातायात जस्तो संवेदनशील क्षेत्रमा चालक नै नसामा रहेको भेटिएपछि प्रहरीले तत्काल कारबाही गरेको जनाएको छ।
पक्राउ परेका दुवै चालकलाई थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन प्रहरी वृत्त कालिमाटीमा बुझाइएको छ। ट्राफिक प्रहरीले यस्ता लापसे तथा मापसे गरी सवारी चलाउनेहरू विरुद्ध नियमित रूपमा कडा निगरानी र चेकिङ अभियान सञ्चालन भइरहेको जनाएको छ।
