काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महानगरभित्रका विद्यालय तहमा अध्ययनरत विद्यार्थीहरूको रगत समूह (ब्लड ग्रुप) परीक्षण गर्ने तयारी गरेको छ। विपद् व्यवस्थापन तथा आपतकालीन स्वास्थ्य सेवामा सहजता ल्याउने उद्देश्यसहित यो कार्यक्रम अघि सारिएको महानगरले जनाएको छ।
महानगरका मेडिकल अधिकृत डा. दिवस न्यौपानेका अनुसार कक्षा ६ देखि १० सम्म अध्ययनरत करिब १५ हजार विद्यार्थीको रगत समूह पहिचान गर्ने लक्ष्य राखिएको छ। उनका अनुसार विद्यालयस्तरमै ब्लड ग्रुप परीक्षण गर्दा भविष्यमा हुने दुर्घटना, प्राकृतिक विपद् वा आकस्मिक उपचारका समयमा आवश्यक रगत तत्काल उपलब्ध गराउन सहयोग पुग्नेछ।
डा. न्यौपानेले भने, “विद्यार्थीहरूको रगत समूह पहिचान भएपछि विपद्को समयमा रगत खोज्न निकै सहज हुन्छ। यसले समयमै उपचार सुनिश्चित गर्न मद्दत गर्छ।”
महानगरले परीक्षणपछि विद्यार्थीहरूको रगत समूहसम्बन्धी विवरण व्यवस्थित रूपमा अभिलेख (डेटाबेस) मा राख्ने जनाएको छ। त्यसलाई आवश्यक परेमा सम्भावित रक्तदाताको रूपमा प्रयोग गर्न सकिने महानगरको योजना छ। आपतकालीन अवस्थामा सम्बन्धित विद्यार्थी वा अभिभावकसँग सम्पर्क गरी रगत व्यवस्थापन गर्न सकिने व्यवस्था मिलाइने बताइएको छ।
महानगरका अनुसार आगामी वैशाखमा नयाँ शैक्षिक सत्र सुरु भएपछि यो कार्यक्रम विद्यालयमै पुगेर सञ्चालन गरिनेछ। स्वास्थ्यकर्मीको टोली विद्यालयमा पुगेर आवश्यक परीक्षण तथा रगत संकलन गर्नेछ।
महानगरले यस कार्यक्रमलाई दीर्घकालीन रूपमा प्रभावकारी बनाउने लक्ष्य राखेको छ। विशेषगरी काठमाडौं जस्तो ठूलो जनसंख्या भएको सहरमा दुर्घटना, भूकम्प वा अन्य विपद्को समयमा रगत अभाव हुन नदिन यो पहल महत्वपूर्ण हुने अपेक्षा गरिएको छ।
यस कार्यक्रमले विद्यार्थीहरूलाई सानै उमेरदेखि स्वास्थ्य सचेतना बढाउने मात्र होइन, सामाजिक उत्तरदायित्व र आपतकालीन सहयोगको संस्कार विकास गर्ने विश्वास पनि महानगरले व्यक्त गरेको छ।
