धनगढी । कैलालीमा जिप र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार कैलारी गाउँपालिका–१ स्थित हुलाकी राजमार्गमा सुदूरपश्चिम प्रदेश ०१–००१ च ३७५३ नम्बरको बोलेरो पिकअप जिप र विपरीत दिशाबाट आउँदै गरेको बा २६ प ३०२७ नम्बरको मोटरसाइकल ठोक्किएका हुन्।
दुर्घटनामा मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका–१९ फूलबारीका २२ वर्षीय राम मिलन चौधरी गम्भीर घाइते भएका थिए। उनलाई तत्काल उपचारका लागि निसर्ग अस्पताल धनगढी लगिए पनि उपचारका क्रममा शनिबार बेलुका उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनापछि जिप र जिप चालक भजनी नगरपालिका–५ का २३ वर्षीय राजु डगौरालाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
