सुनसरी । जिल्ला सदरमुकामसमेत रहेको इनरुवा नगरपालिकाले पूर्व–पश्चिम राजमार्गअन्तर्गत सडकपेटीमा गरिएको अतिक्रमण हटाउन विशेष अभियान सञ्चालन गरेको छ। सडक मापदण्डभित्र बनाइएका संरचना, पसल व्यवसाय, कवाडी सामग्री तथा निर्माण सामग्री हटाउने कार्य नगरपालिकाले डोजर प्रयोग गरी सुरु गरेको हो।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्ली निरौलाका अनुसार राजमार्ग क्षेत्रको सडकपेटीमा लामो समयदेखि अतिक्रमण बढ्दै गएको र पटक–पटक सूचना जारी गर्दा पनि अटेर भएपछि बाध्य भएर कारबाहीस्वरूप संरचना हटाउन थालिएको हो। उनका अनुसार इनरुवा बसचोकदेखि सुखुवागाछीसम्मको क्षेत्रमा विशेष रूपमा अतिक्रमण हटाउने काम भइरहेको छ।
नगरपालिकाले यसअघि चैत ५ गते सातदिने सूचना जारी गर्दै अतिक्रमित संरचना स्वयं हटाउन आग्रह गरेको थियो। तर सूचना बेवास्ता भएपछि नगरपालिकाले आफ्नै डोजर प्रयोग गरी सडकपेटी खाली गराउन थालेको नगरप्रमुख केदार भण्डारीले जानकारी दिए।
नगरप्रमुख भण्डारीका अनुसार राजमार्ग क्षेत्रको सडकपेटीमा कवाडी व्यवसाय, निर्माण सामग्री थुपार्ने, पसल विस्तार गर्ने तथा अवैध संरचना बनाउने प्रवृत्तिका कारण सवारी आवागमनमा समस्या हुनुका साथै बजार क्षेत्र अस्तव्यस्त र कुरूप बनेको गुनासो बढ्दै गएको थियो। यसै कारण नगरपालिकाले अभियानलाई तीव्रता दिएको हो।
नगरपालिकाले सुरु गरेको यो अभियानले राजमार्ग क्षेत्रलाई सुरक्षित, व्यवस्थित र सुन्दर बनाउने लक्ष्य राखिएको छ। स्थानीय बासिन्दाले समेत सडक अतिक्रमण हटाउने कार्यलाई सकारात्मक रूपमा लिँदै यसलाई निरन्तरता दिनुपर्ने माग गरेका छन्।
इनरुवा बजार क्षेत्रमा पनि यस्तै प्रकारले सडक अतिक्रमण बढ्दै गएको, पसलहरू सडकसम्म फैलिएको र निर्माण सामग्री जथाभावी राखिएको देखिएकाले त्यहाँ पनि छिट्टै अभियान विस्तार हुने नगरपालिकाले जनाएको छ। यसले बजार क्षेत्रको ट्राफिक व्यवस्थापन सुधार्ने अपेक्षा गरिएको छ।
