काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको विशेष सुरक्षा तथा सप्राइज चेकिङ अभियानका क्रममा शनिबार १२ जना चालक कारबाहीमा परेका छन्।
ट्राफिक प्रहरीका अनुसार मादक पदार्थ सेवन (मापसे) गरी सवारी साधन चलाइरहेका अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको हो। कारबाहीमा परेका सबै जना मोटरसाइकल चालक रहेको प्रहरीले जनाएको छ।
सडक सुरक्षालाई ध्यानमा राख्दै ट्राफिक प्रहरीले उपत्यकाका विभिन्न मुख्य नाका तथा भित्री सडकहरूमा आकस्मिक चेकिङलाई तीव्र बनाएको छ। प्रहरीका अनुसार यस्ता अभियानबाट मापसेका कारण हुने दुर्घटना न्यूनीकरण गर्ने लक्ष्य राखिएको छ।
ट्राफिक प्रहरीले चालकहरूलाई मापसे गरेर सवारी नचलाउन र ट्राफिक नियमको पूर्ण पालना गर्न आग्रह पनि गरेको छ।
