आज राष्ट्रिय मोही दिवस २०८२ देशभर विभिन्न कार्यक्रम गरी मनाइएको छ। नेपाल डेरी एसोसिएसनले सातै प्रदेशमा कार्यक्रम आयोजना गर्दै दिवस मनाएको हो।
“मोहीको विश्वास, स्वास्थ्यको विकास; घरघरमा फैलाऔं अभियानको प्रयास” भन्ने मूल नाराका साथ दोस्रो संस्करणका रूपमा दिवस मनाइएको एसोसिएसनले जनाएको छ। नेपाली मौलिक संस्कृति, परम्परा र स्वास्थ्यसँग अभिन्न रूपमा जोडिएको मोहीलाई विदेशी तथा कृत्रिम पेय पदार्थको स्वस्थ विकल्पका रूपमा स्थापित गर्ने उद्देश्यले गत वर्षदेखि यो दिवस मनाउन थालिएको हो।
एसोसिएसनमा आबद्ध डेरी उद्योगहरूले देशका विभिन्न स्थानमा निःशुल्क मोही वितरण गरेका छन्। मोहीको उपभोग बढेमा किसानले उत्पादन गरेको दूधले उचित मूल्य पाउने, साथै अस्वस्थ पेय पदार्थमा हुने खर्च र त्यसबाट हुने स्वास्थ्य जोखिम घट्ने अपेक्षा गरिएको छ।
यसैबीच, एसोसिएसनले सरकारी तथा गैरसरकारी निकायका औपचारिक बैठक, विद्यालय–कलेजका क्यान्टिन तथा पारिवारिक समारोहहरूमा पेय पदार्थको रूपमा मोहीको प्रयोग गर्न सबैलाई अपिल गरेको छ।
