खोटाङको दिक्तेलमा आगामी वैशाख ३ देखि ७ गतेसम्म ‘वैज्ञानिक अन्वेषण तथा विज्ञान–गणित प्रदर्शनी–२०८३’ महोत्सव आयोजना हुने भएको छ।
कोशी प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, शुभम् फाउन्डेसन र हिमालयन माध्यमिक विद्यालय सोल्माको संयुक्त आयोजनामा महोत्सव सञ्चालन हुन लागेको हो।
विद्यार्थी तथा युवापुस्तामा विज्ञान र प्रविधिप्रति रुचि बढाउँदै भविष्यमा वैज्ञानिक उत्पादन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको आयोजक समितिका संयोजक तथा शुभम् फाउन्डेसनका कार्यकारी निर्देशक सूर्यबहादुर राईले जानकारी दिए। उनका अनुसार जिल्लामै पहिलोपटक प्रविधिमैत्री तथा नवप्रवर्तनमुखी महोत्सव आयोजना गर्न लागिएको हो।
महोत्सवमा विद्यार्थीहरूले तयार पारेका विज्ञानसम्बन्धी परियोजना, एआईमा आधारित नमूना प्रस्तुति तथा अन्तरक्रियात्मक स्टलहरू राखिनेछन्। पाँच दिनसम्म सञ्चालन हुने कार्यक्रमले विद्यार्थीमा सिर्जनशील सोचको विकास गर्नुका साथै ग्रामीण क्षेत्रमा विज्ञान तथा प्रविधिसम्बन्धी ज्ञान र सीप विस्तारमा योगदान पुग्ने अपेक्षा गरिएको छ।
परियोजना प्रतिस्पर्धामा उत्कृष्ट हुने विद्यालय तथा विद्यार्थीलाई प्रथम, द्वितीय र तृतीयतर्फ क्रमशः २० हजार, १० हजार र ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ। यस्तै, रोबो कार रेसमा प्रथम हुनेलाई १५ हजार, द्वितीयलाई १० हजार र तृतीयलाई ५ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ।
यसका अतिरिक्त ‘पिपुल्स च्वाइस अवार्ड’ र ‘मोस्ट प्राक्टिकल इनोभेसन अवार्ड’ अन्तर्गत पनि विजेतालाई जनही ५/५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ।
