काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तन, समुद्री सुरक्षा चुनौती, आपूर्ति शृङ्खलामा अवरोध र बढ्दो असमानताले विश्वलाई सहकार्य मात्र होइन, सामूहिक जिम्मेवारीतर्फ उन्मुख गरिरहेको बताएका छन्।
मौरिससको पोर्ट लुइसमा सुरु भएको नवौँ हिन्द महासागर सम्मेलनलाई सम्बोधन गर्दै उनले मध्यपूर्वमा भइरहेका द्वन्द्वले नेपालसहित विश्व समुदायलाई प्रभावित पारेको उल्लेख गरे। द्वन्द्वका क्रममा एक नेपालीको ज्यान गएको र अन्य केही घाइते भएको जानकारी दिँदै उनले पश्चिम एसियामा रहेका लाखौँ नेपाली नागरिकको सुरक्षा नेपाल सरकारको प्रमुख प्राथमिकता भएको स्पष्ट पारे।
मन्त्री खनालले यस्ता द्वन्द्वका असर क्षेत्रीय सीमाभन्दा बाहिर फैलिएको उल्लेख गर्दै इन्धन मूल्य, आपूर्ति शृङ्खला र जनजीवनमा समेत प्रत्यक्ष प्रभाव परेको बताए। हिन्द महासागरको स्थिरता विश्व शान्तिसँग जोडिएको धारणा राख्दै उनले सामूहिक संरक्षकत्व, समावेशीता र नियममा आधारित बहुपक्षीय प्रणालीको आवश्यकता औँल्याए।
उनका अनुसार नेपाल भूपरिवेष्ठित राष्ट्र भए पनि हिन्द महासागरसँग ऐतिहासिक र सांस्कृतिक सम्बन्ध राख्दै आएको छ। प्राचीनकालमा नेपाली व्यापारी, तीर्थयात्री र विद्वानहरूले हिमालदेखि महासागरसम्म जोड्ने मार्गहरू प्रयोग गरेको उल्लेख गर्दै उनले यिनै मार्गबाट विचार, दर्शन र विशेषगरी गौतम बुद्धका शिक्षाहरू फैलिएको बताए।
जलवायु परिवर्तनबारे बोल्दै उनले हिन्दुकुश हिमालय क्षेत्र विश्वका अर्बौँ मानिसका लागि पानीको प्रमुख स्रोत भएको बताए। यहाँका हिमनदीहरू तीव्र रूपमा पग्लँदै गएको र हिमताल विस्फोटको जोखिम बढिरहेको उल्लेख गर्दै उनले अर्कोतर्फ हिन्द महासागरको तापक्रम बढ्दा समुद्री सतह वृद्धि भई टापु राष्ट्रहरू संकटमा परेको बताए।
नेपालले अन्तरराष्ट्रिय मञ्चहरूमा यस विषयलाई निरन्तर उठाउँदै आएको र ‘सगरमाथा संवाद’ जस्ता पहलमार्फत विश्वव्यापी सहकार्यलाई प्रवर्द्धन गरिरहेको पनि उनले जानकारी दिए। साथै, भूपरिवेष्ठित राष्ट्रहरूलाई समुद्रमा पहुँच र समुद्री अर्थतन्त्रमा सहभागिता कानुनी अधिकार भएको उल्लेख गर्दै उनले अन्तरराष्ट्रिय कानुनप्रति नेपालको प्रतिबद्धता दोहोर्याए।
अन्त्यमा उनले हिन्द महासागर क्षेत्र विश्व व्यापार र ऊर्जा आपूर्तिको केन्द्र भएकाले यहाँ देखिएका समुद्री आतङ्कवाद, डकैती, लागुऔषध तथा मानव तस्करीजस्ता चुनौतीप्रति नेपाल गम्भीर रहेको बताए। विवाद समाधानका लागि संवाद र अन्तरराष्ट्रिय कानुनको मार्ग अपनाउनुपर्नेमा जोड दिँदै उनले सबै राष्ट्रहरू साझा जिम्मेवारीले जोडिएको धारणा व्यक्त गरे।
