काठमाडौँ। पूर्वी अफगानिस्तानको परवानमा मा शनिबार घरको छत खस्दा एउटै परिवारका आठ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
भारी वर्षाका कारण स्यागिरड जिल्लामा घरको छत भत्किँदा दुर्घटना भएको प्रान्तीय प्रहरी प्रवक्ता फजल रहिम मुस्किनियारले जानकारी दिएका छन्। लगातारको वर्षापछि कमजोर संरचना ढलेको प्रारम्भिक अनुमान गरिएको छ।
यसअघि राजधानी काबुलको बागरामी क्षेत्रमा पनि यस्तै दुर्घटना भएको थियो, जहाँ एउटै परिवारका आठ जनाको ज्यान गएको र एक बालक घाइते भएको बताइएको थियो।
अफगानिस्तानमा पछिल्ला दुई सातामा बाढीजन्य घटनाहरू तीव्र बनेका छन्। यस अवधिमा करिब १४८ जनाको मृत्यु हुनुका साथै २०० भन्दा बढी घाइते भएको जनाइएको छ।
भारी वर्षा र बाढीका कारण देशका विभिन्न भागमा जनजीवन प्रभावित भएको छ भने उद्धार तथा राहत कार्य जारी रहेको अधिकारीहरूले बताएका छन्।
