अन्तरिक्ष इतिहासमा नयाँ उपलब्धि हासिल गर्दै ऐतिहासिक आर्टेमिस द्वितीय अभियानको अन्तरिक्ष टोली करिब १० दिनको यात्रापछि सुरक्षित रूपमा पृथ्वीमा फर्किएको छ। यो अभियानले मानवलाई पुनः चन्द्रमाको नजिक पुर्याउने महत्वपूर्ण परीक्षण मिसनका रूपमा काम गरेको छ।
शनिबार अन्तरिक्ष यात्रीहरूको टोली प्रशान्त महासागरमा सफल अवतरण गरेको हो। कमान्डर रिड वाइसम्यान, पाइलट भिक्टर ग्लोभर, क्रिस्टिना कोच र क्यानाडाका जेरेमी ह्यानसेन रहेको टोलीले चन्द्रमाको टाढाको भाग, पूर्ण सूर्यग्रहण र ग्रहहरूको अद्भुत पङ्क्ति अवलोकन गर्दै ऐतिहासिक यात्रा सम्पन्न गरेको थियो।
NASA का अनुसार ओरिअन क्याप्सुल पृथ्वीको वायुमण्डलमा प्रवेश गर्दा अत्यधिक ताप र प्लाज्माको घेरामा परेको थियो। ध्वनिको गतिभन्दा ३३ गुणा तीव्र गतिमा प्रवेश गरेको क्याप्सुलमा करिब छ मिनेटसम्म सञ्चार अवरुद्ध भए पनि पछि सुरक्षित रूपमा पुनः सम्पर्क स्थापित भएको थियो।
पुनः प्रवेशपछि करिब ३९ हजार ६९३ किलोमिटर प्रतिघण्टा गतिबाट घट्दै क्याप्सुल प्रशान्त महासागरमा अवतरण गरेको हो। उद्धार टोलीले हेलिकप्टरमार्फत अन्तरिक्ष यात्रीहरूलाई अमेरिकी नौसेनाको जहाज यूएसएस जोन पी मुर्तासम्म सुरक्षित रूपमा पुर्याएको थियो।
यस अभियानलाई आगामी चन्द्र अवतरण योजनाको परीक्षण उडानका रूपमा लिइएको छ। संशोधित कार्यक्रम अन्तर्गत अब आर्टेमिस तृतीय र आर्टेमिस चतुर्थ मिसनमार्फत थप परीक्षण र चन्द्रमाको दक्षिणी ध्रुवमा मानव अवतरणको लक्ष्य राखिएको छ।
