काठमाडौं । पेट्रोलियम पदार्थको अभाव र बिटुमिन आपूर्तिमा आएको अवरोधका कारण पूर्वी नेपालस्थित निर्माणाधीन काँकडभिट्टा–लौकही सडक आयोजनाको काम प्रभावित भएको छ। मध्यपूर्वमा देखिएको तनावका कारण बिटुमिन आपूर्ति प्रभावित हुँदा सडक कालोपत्र गर्ने कार्य सुस्त भएको निर्माण कम्पनी इभ्रास्कन कालिका जेभीले जनाएको छ।
कम्पनीका प्रोजेक्ट म्यानेजर उज्वल प्रसाईंका अनुसार मुख्य निर्माण सिजनमै बिटुमिन अभाव हुँदा काम अघि बढाउन कठिनाइ भएको छ। उनका अनुसार स्टकमा रहेको बिटुमिन अब १० देखि १५ दिन मात्र धान्ने अवस्थामा छ।
वर्षाअघि २२ किलोमिटर क्षेत्रमा पहिलो तहको कालोपत्रका लागि बेस तयार पारिए पनि आवश्यक बिटुमिन आपूर्ति नहुँदा काम रोक्ने जोखिम बढेको छ। महँगो मूल्यमा आयात गरिएको बिटुमिन पनि पर्याप्त नहुँदा निर्माण गति प्रभावित भएको निर्माण पक्षले जनाएको छ।
यसैबीच नेपाल आयल निगमले लागू गरेको डिजेल कोटा प्रणालीका कारण आयोजनामा पर्याप्त इन्धन आपूर्ति हुन नसकेको पनि निर्माण कम्पनीले जानकारी दिएको छ। बिटुमिन आयातका लागि खोलिएको एलसीसमेत फिर्ता भएको बताइएको छ।
काँकडभिट्टा–लौकही सडक योजना पूर्वी खण्डका प्रमुख सिडिई सुनिलबाबु पन्तका अनुसार पेट्रोलियम संकटसँगै मौसमले पनि निर्माण कार्यलाई थप चुनौती दिएको छ। अवस्था यथावत् रहेमा एक हप्तादेखि दश दिनभित्र काम पूर्ण रूपमा ठप्प हुन सक्ने उनले चेतावनी दिएका छन्।
पूर्वी खण्डअन्तर्गत काँकडभिट्टादेखि सीतापुरीसम्म करिब ४५ किलोमिटर सडक स्तरोन्नति भइरहेको छ। करिब १० अर्ब ६ करोड ९४ लाख रुपैयाँ लागतमा आयोजना निर्माण भइरहेको हो।
