काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको सातौँ राष्ट्रिय महाधिवेशन आगामी वैशाख २७, २८ र २९ गते हुने भएको छ। महासङ्घको केन्द्रीय सचिवालयले सूचना जारी गर्दै उक्त मितिमा महाधिवेशन सम्पन्न गर्ने निर्णय सार्वजनिक गरेको हो।
महाधिवेशनलाई व्यवस्थित बनाउन मातहतका सबै निकायलाई आवश्यक निर्देशनहरू जारी गरिएको छ। जिल्ला अधिवेशन हुन बाँकी रहेका जिल्लाहरूलाई चैत मसान्तभित्र अनिवार्य रूपमा अधिवेशन सम्पन्न गर्न निर्देशन दिइएको छ। तोकिएको समयसीमा नपुगेका जिल्लाहरूलाई राष्ट्रिय महाधिवेशनमा सहभागी नगराइने स्पष्ट पारिएको छ।
प्रतिनिधि व्यवस्थापनका लागि महासङ्घले वैशाख १५ गतेसम्म नामावली सङ्कलन गर्ने समयसीमा तोकेको छ। प्रदेश संयोजकहरूले आ–आफ्नो प्रदेशबाट चयन भएका प्रतिनिधिहरूको विवरण सोही मितिको साँझ ५ बजेभित्र केन्द्रीय कार्यालयमा पेस गर्नुपर्नेछ।
महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूले दुई प्रति फोटो, सदस्य संस्थाको लेबी रकम तथा प्रतिनिधि शुल्क अनिवार्य रूपमा बुझाउनुपर्ने व्यवस्था गरिएको छ। आर्थिक दायित्व बाँकी रहेका सदस्यहरूलाई सहभागिताबाट वञ्चित गरिने महासङ्घले जनाएको छ।
यस पटकको महाधिवेशनलाई प्रविधिमैत्री बनाउने उद्देश्यसहित केन्द्रीय र प्रदेश समितिको निर्वाचन एकै दिन र एकै स्थानमा ‘विद्युतीय मतदान प्रणाली’बाट गरिनेछ। साथै, बागमती प्रदेशका समस्या रहेका जिल्लाहरूका हकमा केन्द्रीय सचिवालयले तोकेका पदाधिकारीमार्फत नामावली प्रमाणीकरण गरी चैत १५ गतेभित्र पेस गर्नुपर्ने व्यवस्था गरिएको छ।
_kQhrVFo4pV.png)
