काठमाडौँ । अध्यागमन विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूले श्रम स्वीकृति पत्रबाहेक भुक्तानी गरिएका कुनै पनि रसिद विमानस्थलमा पेस गर्नु नपर्ने स्पष्ट गरेको छ। वैदेशिक रोजगार विभागबाट यही चैत २३ गते प्रकाशित सूचनाले श्रमिकहरूमा अन्योल बढाएको भन्दै विभागले यस्तो जानकारी दिएको हो।
यसअघि वैदेशिक रोजगार विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयबाट प्रस्थान गर्दा नेपाली श्रमिकले रसिदलगायत कागजात पेस गर्नुपर्ने जनाएको थियो। तर अध्यागमन विभागले “श्रम स्वीकृति र राहदानीजस्ता न्यूनतम आधारभूत कागजातबाहेक अन्य कुनै कागजात वा बिल/रसिद आवश्यक नपर्ने” स्पष्ट पारेको छ।
विभागले विदेश यात्रा गर्ने नेपाली नागरिकलाई कुनै भ्रममा नपरी गन्तव्य मुलुक र यात्रासम्बन्धी जानकारी पूर्ण रूपमा लिएर निर्धक्क यात्रा गर्न अनुरोध गरेको छ।
यसैगरी, भ्रमण उद्देश्यका लागि नेपालबाट प्रस्थान गर्ने नेपाली नागरिकले कम्तीमा छ महिना म्याद भएको राहदानी, गन्तव्य मुलुकसम्मको हवाई टिकट तथा सम्बन्धित देशको प्रवेश अनुमति (प्रवेशाज्ञा) भएमा स्वघोषणासहित विदेश जान पाउने व्यवस्था पहिलेदेखि नै लागू रहेको विभागले जनाएको छ।
