हुम्ला । हिमाली जिल्ला हुम्लामा पाँच दिनदेखि अवरुद्ध हवाई सेवा शनिबारदेखि पुनः सुचारु भएको छ। खराब मौसम र नेपालगन्जमा जहाज अभावका कारण सेवा प्रभावित भएको थियो।
लगातारको वर्षा र हिमपातका कारण मंगलबारदेखि बिहीबारसम्म उडान पूर्ण रूपमा रोकिएको थियो भने शुक्रबार पनि जहाज उपलब्ध नभएकाले सेवा सञ्चालन हुन सकेको थिएन। तर शनिबार नेपालगन्ज–सिमकोट रुटमा तारा एयरले एक उडान भरेपछि सेवा पुनः सुरु भएको हो।
उक्त उडानमार्फत १५ जना यात्रु सिमकोट आएका छन् भने १६ जना यात्रु नेपालगन्ज प्रस्थान गरेका छन्, जसमा बिरामी तथा विदेशी नागरिकसमेत रहेका छन्।
पर्यटकीय सिजनका कारण अधिकांश निजी एयरलाइन्सका जहाज काठमाडौँ केन्द्रित हुँदा हिमाली जिल्लामा यात्रुहरू थप प्रभावित भएका छन्। नियमित उडान गर्ने एयरलाइन्सहरूले रद्द भएका उडानको क्षतिपूर्ति स्वरूप अतिरिक्त उडान नगरेको पनि जनाइएको छ।
